July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

इन्दिरा सुगर मिलले दिएन किसानको ७ करोड बक्यौता, सञ्चालक अग्रवाललाई झिकाउन गृह मन्त्रालयमा उजुरी

Advertisement

परासी– पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सञ्चालित इन्दिरा सुगर मिल्स एण्ड इन्डष्ट्रिज पालिविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । किसानहरूको करोडौँ रुपैयाँ बक्यौता भुक्तानी नगरेको भन्दै कारबाहीका लागि उजुरुी दिइएको हो ।

Advertisement

स्थानीय युवा समाजसेवी एवं अभियन्ता विजय कँडेलले गृहमन्त्रीलाई पत्र लेख्दै उद्योगका सञ्चालक राकेशकुमार अग्रवालले किसानको पसिनाको मूल्य नतिरी सम्पर्कविहीन भएको भन्दै तत्काल कारबाहीको माग गरेका हुन् ।

निवेदनका अनुसार इन्दिरा सुगर मिलले उखु किसानहरूलाई झण्डै ७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। पटक–पटक ताकेता गर्दा पनि उद्योगले रकम नतिरेको र हाल सञ्चालक अग्रवाल सम्पर्कमा नरहेकाले किसानहरू निकै मर्कामा परेका छन्।

निवेदक कँडेलले गृह मन्त्रालयमा दर्ता गराएको पत्रमा मुख्य रूपमा दुई विषय उठान गराएका छन् । सम्पर्कविहीन रहेका उद्योग सञ्चालक राकेशकुमार अग्रवाललाई सरकारले तत्काल उपस्थित गराई किसानहरूको बक्यौता रकम भुक्तानी गराउनु पर्ने र निजी क्षेत्रबाट उद्योग चल्न नसकेको र किसानले सधैँ दुःख पाएको अवस्थामा उक्त मिललाई सरकारको मातहतमा ल्याई सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने माग छ ।

लामो समयदेखि भुक्तानी नपाउँदा सुस्ता र प्रतापपुर क्षेत्रका सयौँ किसानहरूको घरखर्च र बैंकको ब्याज तिर्न समेत समस्या भएको छ। ‘किसानको रकम नतिरी उद्योगी भाग्नु अपराध हो, यसमा सरकारले कडा कदम चाल्नुपर्छ’, कँडेलले पत्रमा उल्लेख गरेका छन् । गृह मन्त्रालयले यस विषयमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको जनाइएको छ ।