शैक्षिक गुणस्तरियता कायम गर्न तिलोत्तमामा शिक्षा क्षेत्र सुधार कार्यक्रम लागू


भैरहवा– प्रतिबिद्यार्थी लागत घटाउँदै शैक्षिक गुणस्तरियता कायम गर्न रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शिक्षा क्षेत्र सुधार कार्यक्रम अगाडि बढाएको छ ।
शिक्षा क्षेत्र सुधार कार्यक्रम अन्तर्गत प्रारम्भिक चरणमा नगरभित्रका बिद्यालयहरुमा तह मिलान गरी एकिकरण (मर्ज) प्रक्रियालाई नगरपालिकाले अगाडि बढाएको हो । यो कार्यलाई नगरपालिकाले नमुना प्रयाशको रुपमा लिएको छ ।
तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँडले नगर क्षेत्रमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले शिक्षा क्षेत्र सुधार कार्यक्रमलाई अगाडि बढाइएको र कार्यदलको सुझावका आधारमा ६ विद्यालय समायोजन र ७ विद्यालयको तह मिलान गरिएको बताए ।
उनका अनुसार, कार्यदलले दुई महिनासम्म स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनका आधारमा शिक्षा क्षेत्रमा सुधारका कदम चालिएको हो । विद्यालयको अवस्था, विद्यार्थी संख्या, शिक्षक दरबन्दी, अनुदान वितरणलगायत विषयमा विस्तृत अध्ययन गरिएको छ । साथै, सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधि, सरोकारवाला निकाय र विज्ञहरूसँग छलफलपछि कार्यविधि तयार गरिएको हो ।
घट्दो विद्यार्थी संख्या, कमजोर शैक्षिक उपलब्धि, शिक्षक–विद्यार्थी अनुपातको असन्तुलन, अभिभावकको घट्दो चासो र प्रति विद्यार्थी उच्च लागतजस्ता समस्या देदिखन थालेपछि शिक्षा क्षेत्र सुधार कार्यक्रम लागू गर्ने निर्णयमा नगरपालिका पुगेको खाँडले बताए ।
विद्यालय समायोजनबाट वार्षिक करिब ५० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ । यो बचत रकम धेरै विद्यार्थी भएका विद्यालयमा लगानी गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने योजना नगरपालिकाको छ । तिलोत्तमामा हाल ४२ सामुदायिक विद्यालयमा १९ हजारभन्दा बढी र ४२ संस्थागत विद्यालयमा २३ हजार ३ सय २३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यस अवस्थालाई सुधार गर्न नगरपालिकाले मापदण्ड तयार गरी लागू गरेको छ । मापदण्डमा कम्तीमा एक कक्षामा १५ जना विद्यार्थी हुनुपर्ने व्यवस्था गरिएको छ । मापदण्ड नपुगेका विद्यालय समायोजन गरिएका छन् ।
तिलोत्तमा–१६ का बोहिया आधारभूत विद्यालय र कोटहिमाई मिसुजु आधारभूत विद्यालयलाई कोटहिमाई मिसुजु आधारभूत विद्यालयमा एकीकृत गरिएको छ । तिलोत्तमा–१२ को कोटियामाई आधारभूत विद्यालयलाई सरस्वती आधारभूत विद्यालयमा समायोजन गरिएको छ । तिलोत्तमा–६ को मेदिनी आधारभूत विद्यालयलाई तिलोत्तमा–५ स्थित शान्ति नमूना माध्यमिक विद्यालयमा गाभिएको छ ।
तिलोत्तमा–१४ को नमूना महिला आधारभूत विद्यालयलाई टिकुलिगढ माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । तिलोत्तमा–११ को नवज्योति शंकरमान आधारभूत विद्यालयलाई भुल्के माध्यमिक विद्यालयमा र तिलोत्तमा–१३ को सेमरी आधारभूत विद्यालयलाई जनता माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।
तिलोत्तमा–१७ को बाल विकास आधारभूत विद्यालय र तिलोत्तमा–८ को ज्योति आधारभूत विद्यालयलाई कक्षा ८ बाट घटाएर कक्षा ५ सम्म सीमित गरिएको छ । तिलोत्तमा–११ को शिवपुर माध्यमिक विद्यालयलाई कक्षा १२ बाट कक्षा १० सम्म झारिएको छ । त्यही वडामा रहेको गणेश आधारभूत विद्यालयलाई पनि कक्षा ८ बाट कक्षा ५ मा सीमित गरिएको छ ।
तिलोत्तमा–१३ को बभनी आधारभूत विद्यालय र तिलोत्तमा–१२ को सरस्वती आधारभूत विद्यालयलाई कक्षा ५ बाट कक्षा ३ सम्म सीमित गरिएको छ । साथै, तिलोत्तमा–६ को सत्यलक्ष्मी आधारभूत विद्यालयलाई पनि कक्षा ५ बाट कक्षा ३ सम्म झारिएको छ ।








प्रतिकृया दिनुहोस्