आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


भैरहवा– आजदेखि दुई दिन देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउन सुरु गरेको हो । आइतबार र सोमबार दुई दिन यो कार्यक्रम देशभर संचालन हुनेछ ।
राष्ट्रिय कार्यक्रम अनुसार लुम्बिनी प्रदेशका सबै पालिकाका वडाहरु पनि भिटामिन र जुकाको औषधि खुवाइँदैछ । कार्यक्रमअन्तर्गत देशभर ६ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन सुरु गरिएको छ । त्यसका लागि स्थानीय तहले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका छन् । कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन् ।
भिटामिन ‘ए’ले आँखाको ज्योति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको वृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्ने र जुकाको औषधिले पेटका किरा हटाउनुका साथै बालबालिकालालाई कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखाला जस्ता समस्याबाट बचाउने चिकित्सकले जनाएका छन् ।
भिटामिन ‘ए’ कमिको रोकथाम तथा उपचारका लागि वि.सं. २०५० मा आठ जिल्लाबाट सुरु भएको कार्यक्रम वि.सं. २०५९ देखि देशभरि नै लागू गरिएको थियो । यस्तै, जुका नियन्त्रण तथा रोकथामको लागि वि.सं. २०५६ बाट १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालबाट सबै जिल्लामा लागू गरिएको थियो । प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरिएको छ ।








प्रतिकृया दिनुहोस्