बुटवल उपमहानगरको सडकपेटी खाली गराउने अभियानले ‘तनाव’


बुटवल– पैदल यात्रु हिंड्ने फुटपाथमा व्यापारिक प्रयोजनका सामान थुपार्ने परम्परा अन्त्यका लागि बुटवल उपमहानगरपालिकाले बजार व्यवस्थित र सडक पेटी खाली गराउने अभियान सुरु गरेको छ । यस क्रममा उपमहानगर प्रमुख खेलराज पाण्डेय आफैं सहभागी भइरहेका छन् ।
सडक क्षेत्र ओगटेर राखिएका सामग्री पाण्डेयले आफैले उठाएर गाडीमा राख्ने गरेका छन् । यस क्रममा नगर प्रहरी र व्यवसायीबीच घम्साघम्सी भइरहेको छ । बाटोमा राखेका सामग्री हटाएर सहर सफा र व्यवस्थित गराउने अभियानको धेरैले तारिफ गरिरहेका छन् । कतिपयले प्रशंसा गर्ने क्रममा उपमहानगर प्रमुखलाई ‘बालेन–२’ पनि उपमा दिएका छन् । तर, नगर प्रहरीले सडक क्षेत्र खाली गराउने क्रममा पशलभित्र छिरेर सामान जफत गर्न थालेपछि तनाव भएको छ ।
उपमहानगरले सडक ओगटेका सामान हटाउन सूचना जारी गरेको थियो । सूचनाले तोकेको मितिमा सामान नहटाउने व्यापारीका सामान जफल गरिएको भनाई उपमहानगरको छ । सामाजिक सञ्जालमा व्यापक भएका भिडियोमा भने नगर प्रहरीले बल प्रयोग गरेर व्यापारीका सामान उठाएको देखिन्छ । यसक्रममा व्यापारी–नगर प्रहरी ठेलमठेल र हात हालाहाल भएको देखिन्छ । उपमहानगरको अभियान बिरुद्ध व्यापारीले एकजुट भएर विरोध गरिरहेको देखिन्छ ।
उपमहानगरले नगरमा जथाभावी राखिएका एवं पार्किङ गरिएका सवारी साधन उठाउन सुरु गरेको हो । मोटरसाइकन, स्कुटी रिकन्डिसन व्यवसायीले पैदल यात्रुका लागि निर्माण गरिएको सडकमै राखेर व्यापार गर्ने गरेको गुनासो गरेपछि नगरपालिकाले बुधबारदेखि सडक खाली गराउने र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउने अभियान सुरु गरेको थियो । बुधबार भुड्कीचोकमा डोजर चलाएर सडक पेटी अतिक्रमण गरिएका घर भत्काएको उपमहानगरले बिहीबार पनि बिहानैदेखि सडक पेटीमा राखिएका सवारीसाधनहरु क्रेन प्रयोग गरेर हटाएको थियो ।
उपमहानगरपालिकाले सडक किनार र फुटपाथ अतिक्रमण गरि सञ्चालन गरिएका व्यवसाय हटाउन भन्दै तीन दिनदेखि माइकिङ गर्दै सर्वसाधरणलाई जानकारी दिएको थियो । तर, व्यवसायी र घरधनीहरुले अटेरी गर्दै आएका थिए र सर्वसाधरणले पनि फुटपाथमै सामान राखेर व्यवसायी गर्दै आएका थिए । पटक–पटक आग्रह गर्दा पनि अटेरी गरेपछि डोजर चलाउन बाध्य भएको र यो अभियान बुटवलका सबै बजार क्षेत्रमा निरन्तर रहने उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बताए ।
‘बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म नै सडकको फुटपाथ कब्जा गरि व्यवसाय गर्ने परिपाटीको विकास हुँदै गयो,’ उनले भने, ‘त्यसैले बाध्य भएर कसैको अनुहार नहेरी डोजर चलायौं ।’ सडकपेटीबाट सुरक्षित रुपमा पैदल हिंड्न पाउने अधिकार सुनिश्चित गर्ने र बुटवल बजारलाई व्यवस्थित गर्ने उद्देश्यसहित नगरपालिकाले अभियान सुरु गरेको उनले बताए । डोजर लगाउँने क्रममा पूर्वपश्चिम राजमार्गको ८२ फुट भित्रैको सडकमै सेफ्टीटंयाक्नी निर्माण गरेको समेत फेला परेको उनले बताए ।
फुटपाथ र सडक किनार कब्जा गरी थापिएका पसलका कारण अस्पताल लाइन, भुड्की चोक, पुष्पलाल पार्क सबैभन्दा बढी अस्तव्यस्त बनेको थियो । त्यस्तै बसपार्कदेखि कालिकानगरसम्म रहेको पूर्वपश्चिम राजमार्गको सर्विस लेन खण्डमा रिकण्डिसन व्यवसायीहरुका कारण सवारी आवतजावत र सर्वसाधरणको पैदल यात्रा नै अबरुद्ध हुने गरेको थियो ।
नगरपालिकाले त्यस्ता सबै स्थानमा डोजर चलाउने र सवारी साधन नियन्त्रणमा लिएर नगरपालिकामै लैजान सुरु गरेको नगरउपप्रमुख सावित्रा आचार्यले बताईन् । डोको र ठेलामा राखिएका तरकारी, फलफूल र कपडा पसलका कारण बिरामी लिएर आउने एम्बुलेन्सलाईसमेत अस्पताल भित्र छिर्न अवरोध हुने गरेको थियो । ‘त्यसैले पहिलो चरणमा अस्पताल लाईन र भुड्कीचोकमा डोजर चलाईएको हो,’ उनले भनिन्, ‘अभियान बिहीबार पनि जारी छ ।’
भुड्की चोकमा वर्षौंदेखि सडक कब्जा गरी भुड्की पसल सञ्चालन गरिएका थिए । अस्पताललाईनको आकाशे पुलअगाडि फुटपाथमै कपडा पसलदेखि मेडिकल र फोटो एवं फोटोकपी व्यवसाय पनि सञ्चालनमा थिए । नगरपालिकाले नगर प्रहरी, नेपाल प्रहरीसहितको सहयोगमा ती सबै संरचना भत्काएको हो । अभियानमा नगरप्रमुख पाण्डे, उपप्रमुख आचार्यसहित अधिकांश जनप्रतिनिधहरु आफैं उपस्थित भएका छन् ।








प्रतिकृया दिनुहोस्