August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

सुन चोरीमा पाकिस्तानी महिलाको संलग्नताप्रति चासो

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशका सिमावर्ती जिल्लामा भएका सुनका गहना चोरी र ठगीको आरोपमा पाकिस्तानी महिलाको संलग्नता देखिएपछि प्रशासन सतर्क बनेको छ । चोरीका घटनामा पाकिस्तानी राहदानी बोकेका महिला पक्राउ परेपछि यहाँका बासिन्दाले समेत चासो व्यक्त गरेका छन् । यसअघि चोरीका घटनामा भारतीय नागरिक संलग्न भएको पाइन्थ्यो । यसपटक दुई पाकिस्तानी महिला गहना चोरीको आरोपमा पक्राउ परेका हुन् ।

Advertisement

कपिलवस्तुका दुई स्थानमा ती महिलाले गहना चोरी गरेको आरोप छ । कपिलवस्तु सदरमुकाम तौलिहवा र चन्द्रौटामा भएका चोरीका घटनामा संलग्न आरोपमा पाकिस्तानी नागरिक २० वर्षीया वेबी कसमुल र ४१ वर्षीया सर्वना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुबाट पाकिस्तानी राहदानी बरामद भएको छ । प्रहरी स्रोतका अनुसार पाकिस्तानबाट २७ नागरिक भित्रिएको आशंकामा छानबिन भइरहेको छ । उनीहरुबारे जानकारी गरिरहेकाले यथार्थ पत्ता लागेपछि जानकारी सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

चन्द्रौटास्थित सुरेन्द्र सुनचादी पसलमा सुन गरगहना खरिद गर्ने भन्दै विभिन्न किसिमका गहना हेर्दै ब्यवसायीलाई अल्मल्याई ३८ लालको एक जोडा सुनको झुम्का चोरेर भागेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । चोरीपछि पसलबाट बाहिर निस्किँदा उनीहरूले मास्कमाथि बुर्का लगाएर आफ्नो पहिचान लुकाउने प्रयास गरेका थिए ।

पसल सञ्चालकले गहना हराएको थाहा पाएपछि तत्काल बजार क्षेत्रमा पुगेर खोजी गरेका थिए । केही पर महिला फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि महिलालाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको थियो । त्यसअघि ती महिलाले सदरमुकाम तौलिहवास्थित एक पसलमा ठगी गरेर भागेका थिए । पसलमा उनीहरुले थोरैमात्रामा सुन भएको गहना दिएर झुक्कयाई बढी मात्रा सुन भएको गहना लगेका थिए । उनीहरुले ७५ प्रतिशत सुन भएको भन्दै सिक्री र दुई जोडी कानमा लगाउने झुम्का दिएर पसलेसँग अर्को झुम्का लिएका थिए । पसलमा साटेको झुम्का साथीलाई देखाएर आउँछु भनेर बाहिर गएपछि फर्किएनन् ।

लगत्तै चन्द्रौटामा भएको चोरीको घटना सार्बजनिक भएपछि तौलिहवाका पसलेले महिलाले दिएको सुन जाच गर्दा गहनामा ७ प्रतिशत सुनमा रहेको थाहापाएपछि ठगिएको भन्दै प्रहरीकामा उजुरी दिन गएका थिए । बुटवलको योगीकुटी क्षेत्रको एक सुनचाँदी पसलमा समेत उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ । उनीहरूले नगद रुपैयाँ देखाउँदै गहना हेर्ने किन्ने बहानामा सुन चोरी गर्ने शैली अपनाउने गरेको पाइएको छ । उनीहरुसँग नेपाली १० देखि एकहजार रुपियाका नोट गरि ८६ हजार ४० रुपिया नगद पनि बरामद भएको छ । त्यस्तै १० रुपैयाँ दरका ३ वटा पाकिस्तनी रुपैयाँपनि बरामद भएको छ ।

प्रहरीले ती महिलामाथी चोरी र ठगीमा अनुसन्धान गरिरहेको छ । एक महिनाको नेपालमा बस्ने भिसा रहेका ती महिला २४ मार्चमा काठमाडौं आएका थिए । अप्रिल २२ सम्म उनीहरुको भीसा म्याद छ । अदालतबाट बुधबार ७ दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको छ । उनीहरु चोरी गर्ने वा अन्य के प्रयोजनका लागि आए भन्ने अनुसन्धान भइरहेको छ । उनीहरु प्रष्टसँग हिन्दी बोलेर पसलमा कारोवार गर्ने गरेका थिए । पाकिस्तानी महिला पक्राउ परेपछि सीमा क्षेत्रका भारतीय संचारमाध्यमले निक्कै चासो राखेका छन् ।