लुम्बिनी प्रदेशका ६ जिल्लामा पाटेबाघ


भैरहवा– लुम्बिनी प्रदेशका बर्दिया र बाँके बाहेक ६ जिल्लामा पाटेबाघ देखिएपछि संरक्षणकर्मी हौसिएका छन् । रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा पाटे बाघ देखिएका हुन् । दाङ, पाल्पा र अर्घाखाँचीमा पनि बाघ देखिएको छ । तीन महिना यतादेखि भइरहेको अध्ययन अनुसार प्रदेशका १२ मध्य बाँके र बर्दिया बाहेक ६ जिल्लामा गरिएको क्यामेरा ट्रयापमा बाघ परेको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्राणीशास्त्र केन्द्रिय विभागद्वारा प्रदेशमा वन्यजन्तु, उभयचर र सरिसृपको अवस्था पत्ता लगाउने उद्देश्यले अध्ययन भइरहेको छ । यसक्रमा राम्रो संख्यामा बाघ अभिलेख भएका हुन् । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा मानव वन्यजन्तु सहअस्तित्व कायम गर्न चाहिने आधारभूत तथ्यांक संकलन गर्न पनि अध्ययनले सहयोग गर्ने त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभागका प्रोफेसर तथा अध्ययन टोली संयोजक डा. हरिप्रसाद शर्माले बताए ।
क्यामरा ट्रयापमा सबैभन्दा बढी कपिलवस्तु र दाङमा बाघ परेका छन् । कपिलवस्तुमा ४ वटा पाटेबाघ देखिएका छन् । पूर्व–पश्चिम राजमार्गको उत्तर तिलौराकोट साझेदारी र विभिन्न सामुदायिक वनका क्षेत्र र खारखानी वनमा बाघ भेटिएका हुन् । यी वनमा ६८ वटा क्यामरा जडान गरिएका थिए । ४ सय वर्ग किलोमिटर क्षेत्रमा राखिएकामा ८ वटा क्यामराले बाघको तस्बीर खिचेका थिए । पाटा विश्लेषण गरेर हेर्दा ४ वटा फरक बाघ भएको क्यामरा ट्रयाप फिल्ड को–अर्डिनेटर बाचन प्रसाईले बताए । दाङमा पनि ४ वटा बाघ क्यामरामा परेका छन् । अमेलिया, सतबरिया र अर्जुनखोलामा तथा चुरे क्षेत्र चाक्लीघाटमा क्यामरा ट्रयापमा बाघ परेका हुन् । ६९ वटा क्यामरा ४ सय २५ वर्गकिलोमिटरमा राखिएका थिए ।
कपिलवस्तुमा तेस्रो पटक बाघ अभिलेख भएको हो । दोस्रो पटक २०८० पुसमा बुद्धभूमि नगरपालिकामा दुई वटा र विजयनगर गाउँपालिकामा एउटा बाघ परेको थियो । पश्चिम नवलपरासीमा दुई वटा बाघ अभिलेख भएका छन् । ५२ वटा क्यामरा राखेर ३ सय २५ वर्गकिलोमिटर क्षेत्रमा अध्ययन गर्दा बाबा गोरिया सामुदायिक वनमा बाघ देखिएका हुन् । रुपन्देहीमा एउटा बाघ क्याम्रा ट्रयाप परेको छ । रुपन्देहीको २ सय ५० वर्गकिलोमिटरमा ४० थान क्यामरा राखेर अध्ययन गरिएको थियो । वन अनुसन्धान केन्द्र (वन बाटिका पार्क) गणेशनगर छेउमा रहेको गौशाला आसपासमा एउटा वयस्क बाघ क्यामरामा अभिलेख भएको छ ।
पाल्पामा दुई वटा बाघ अभिलेख गरिएको छ । माथागढी गाउँपालिकाको माथागढी किल्ला आसापास १ हजार १ सय १० मिटर उचाइमा र अर्को तिनाउ गाउँपालिकाको झुम्सा खोलामाथि डाँडा लगरमा ५ सय ३६ मिटर उचाइमा बाघ देखिएको अध्ययन टोली संयोजक डा. शर्माले बताए । अर्घाखाँचीको शितगंगा नगरपालिका नजिकै एउटा बाघ अभिलेख भएको छ । त्यहाँ बस्ती आसपास ९ सय ३४ मिटर उचाईमा बाघ भेटिएको हो । पाल्पाका ४४ र अर्घाखाँचीमा ५० वटा क्यामरा राखेर करिब ८ सय वर्गकिलोमिटरमा क्षेत्रमा अध्ययन गरिएको थियो ।
गुल्मीमा ३६ वटा क्यामरा जडान गरेर २ सय २५ वर्गकिलोमिटरमा अध्ययन भइरहेको छ । प्यूठानमा ४० वटा क्यामरा ट्रयाप राखेर २ सय ५० वर्गकिमीमा अध्ययन भइरहेको छ । अब सातादिनमा यी दुबै जिल्लामा बाघ भए–नभएको पत्ता लाग्ने टोलीले जनाएको छ । ६ जिल्लामा राखिएका क्यामरामा २० वटा बाघ परे पनि कम्तिमा १४ वटा फरक रहेको अध्ययन टोली संयोजक डा. शर्माले जनाए । सबै बाघ वयस्क हुन् ।
चुरे क्षेत्रका राष्ट्रिय वन, सामुदायिक वन र पहाडमा क्यामरा ट्रयाप राखिएको थियो । वन्यजन्तु आउआउ गर्ने सम्भाव्य बाटो, नदी खोला किनार, दोबाटो फायरलाइनमा क्यामरा राखिएका थिए । डाँडाको बाटो भन्ज्याङ, गोरेटो ट्रयाक, नुन र पानीको स्रोत भएको ठाउँमा क्यामरा राखिएका थिए । दुई सातापछि रोल्पा र पूर्वी रुकुममा अध्ययन थालिने छ । अध्ययन टोली संयोजक शर्मा नेतृत्वमा २० सदस्यले दुई वर्षदेखि अध्ययन गरिरहेका छन् । टोलीमा बिज्ञ, विशेषज्ञ, अनुसन्धानकर्ता र प्राणीशास्त्र अध्ययनरत विद्यार्थी संलग्न छन् । सन २०२४ नोभेम्बरदेखि सुरु भएको अध्ययन २०२६ जुलाईमा सकिने छ ।








प्रतिकृया दिनुहोस्