मकै पोलेर गुजारा चलाउँदै पूर्वनगर उपप्रमुख


बर्दिया– बर्दियाको मधुवन नगरपालिकाकी पूर्वउपप्रमुख शुभरानी थारु मकै पोलेर गुजारा गरिरहेकी छन् । उनी हरेक दिन मकैं पोलेर विक्री गर्न व्यस्त हुन्छिन् । मधुवन–४, माचर चोक उनको व्यापार गन्तव्य हो । मकैंको याम भएकाले पोलेर विक्री गरेर खर्च जुटाइरहेको उनले बताइन् ।
तत्कालीन माओवादी केन्द्रबाट नगर उपप्रमुख निर्वाचित उनी अहिले पार्टी परिवर्तन गरेर एमालेबाट प्रदेश कमिटी सदस्य छन् । आफ्नो १० कट्ठा जग्गामा मकै खेती गरेकी छन् । सँगै तरकारी र अन्य बाली पनि लगाएकी छन् । यस बाहेक पशुपालन र तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको उनी बताउँछिन् । परिवारमा ११ सदस्य छन् । सबै जना साथै बस्ने गरेका छन् । ५ वर्ष जनप्रतिनिधि भएर सेवा गरेकी उनले किसानको छोरी भएकाले पदमा पुगे पनि श्रम गन नछाड्ने बताइन् ।
‘पदमा बस्दा भ्रष्टाचार गरिनँ, कसैसँग मागेर र चोरेर पनि खाएको छैन,’ उनले भनिन् ‘श्रम बेचेर खान लाज मान्ने कुरै छैन, जती ठूलो पदमा पुगे पनि किसान भएकाले श्रम गरेर खाँदा खुसी लाग्छ ।’ मधुवन–४ कि उनले मकै बेचेर दिनमा २ देखि ३ हजार रुपैयाँसम्म आम्दानी गरिरहेको बताइन् । व्यवसायसँगै उनी राजनीति पनि गर्छिन् । तत्कालीन माओवादी कार्यकर्ता भएर उनले पार्टीको काम गरेकी थिइन् । माओवादीसित बिचारले मेल नखाएपछि दुई वर्ष अघि एमालेमा प्रवेश गरेको उनले बताइन् । आफ्नै बारीमा उत्पादन गरिएका मकै ल्याएर दिनहुँ माचर चोकमा ल्याएर पोलेर बेच्ने गरेको उनले जनाइन् ।
उनलाई श्रीमानको सहयोग पनि छ । अन्नवाली, तरकारी र घरमा पालेका गाई, भैंसीको हेरचाह श्रीमान् फूलारामले गर्छन् । श्रीमती उपप्रमुख हुँदा पनि आफूले पशुपालन र कृषि कर्म गरेको उनले बताए । ‘अहिले श्रीमतीसित मिलेर काम गर्दा खुसी लाग्ने गरेको छ,’ उनले भने, ‘पढेलेखेको भए जागिर गरिन्थ्यो, नपढेकालाई यही काम उपयुक्त हो ।’








प्रतिकृया दिनुहोस्