लुम्बिनीमा यतिसम्म मनपरी


भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा कहाँ कसले के गर्छ, के स्वीकृति दिन्छ, के फाइदा लिन्छ ? कुनै कुराको टुंगो हुँदैन । यहाँ जसले जे मन लाग्यो त्यही गर्दै आएका छन् । चाहे त्यो अनुदानमा भ्यान दुरुपयोग होस् वा नीति र विधि विपरीत विदेशीहरुलाई प्लट वितरण, यो लामो समय चल्दै आएको मनपरी हो ।
त्यति मात्रै होइन्, गुरुयोजना सम्पन्न गर्ने नाममा भएका संरचना भत्काउँदै लुम्बिनीलाई कंक्रिटमय बनाइएको छ । लुम्बिनी गुरुयोजनामा यस्तो कंक्रिट बनाउने परिकल्पना नै छैन । यति मात्रै होइन्, लुम्बिनीमा पदाधिकारीबीच बेमेल हुने, कोषमा नआई काठमाडौं केन्द्रित हुने, आफूखुशी सुविधा लिने व्यापक छ । गुरुयोजनाका परिकल्पनाविपरीत संरचना खडा गरी स्वार्थसिद्ध गर्ने लुम्बिनीका पूराना रोग हुन् ।
पछिल्लोपटक लुम्बिनी स्थित शान्ति दीप अगाडि सम्झौता बिना पुस्तक पसल सञ्चालन गर्दा समेत लुम्बिनी विकास कोष देखेर पनि नदेखेझै गरेको छ । पछिल्ला सात–आठ वर्षदेखि शान्ति दीपको अगाडि पूर्वतर्फ सिम्बोलिक पेभिलियोन भवनमा विकास कोषको सम्झौता बिना नै पुस्तक पसल सञ्चालन हुँदै आएको हो ।
यता लुम्बिनी विकास कोषसँग सम्झौता गरेर सञ्चालन गरिएका होटेल तथा पसलहरूले पनि वर्षौदेखि भाडा बुझाएका छैनन् । तर, यी कसैलाई विकास कोषले कारबाही गर्न सक्दैन । जसले गर्दा लुम्बिनी बदनाम छ । यति मात्रै होइन्, निजी कम्पनीलाई लुम्बिनीमा फलफूल खेती गर्न समेत दिइएको छ ।
लुम्बिनी विकास कोषका अनुसार नियमविपरीत संचालित पुस्तक पसल श्री सारिपुत्र फाउन्डेसनले सञ्चालन गर्दै आएको छ । पसल सञ्चालन गर्दा अवधेशकुमार त्रिपाठी लुम्बिनी विकास कोषमा उपाध्यक्ष थिए । त्रिपाठीको मौखिक अनुमतिमा सञ्चालन गरिएको पसल त्यसयता पनि बिना अनुमति र सम्झौता सञ्चालन भइरहेको छ । लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा पुस्तक पसल सञ्चालन गरिएको भन्दै विकास कोषले पसल हटाउन पटक–पटक पत्राचार गर्दै आएको छ । ‘तर, पसल सञ्चालकले भने हटाउने तर्फ भने बेवास्ता गर्दै आएका छन्’, सदस्य सचिव दीपक श्रेष्ठले भने, ‘हटाउ भन्दा उल्टै धम्की आउने गरेको छ ।’
कोषले सारीपुत्र फाउन्डेसनलाई पुस्तक पसल राखिएको स्थान विकास कोषको कार्यालय सञ्चालनको लागि आवश्यक रहेकोले खाली गरिदिन भन्दै २०८० सालमा दुई पटक पत्राचार गरेको थियो । २०८० साउन २ गते र मङ्सिर २८ गते दुई पटक पत्राचार गरे पनि पसल नहटाएपछि सात दिन भित्र पसल राखिएको स्थान खाली गरिदिन विकास कोषले गत चैत्र १६ गते तेस्रो पटक पत्राचार गरेको थियो । तेस्रो पटक गरिएको पत्राचार पछि पनि फाउन्डेसनले पसल खाली गर्न बेवास्ता गर्दै आएको सदस्य सचिव श्रेष्ठ बताउँछन् ।
श्रेष्ठले फाउन्डेसनले लुम्बिनीको पवित्र उद्यान क्षेत्र निःशुल्क रूपमा लिएर पुस्तकको व्यापार गरिरहेको जनाए । फाउन्डेसनका सञ्चालक भिक्षु सुमंगलले पसल हटाउनुको सट्टा उल्टै विकास कोषबाट सरुवा गरिदिने धम्की दिएको श्रेष्ठले दावी गरे । पसल सञ्चालक फाउन्डेसनका सञ्चालक भिक्षु सुमंगलले भने आफूले सात आठ वर्षदेखि नै सो स्थानमा पुस्तक पसल सञ्चालन गर्दै आएकोले अहिले पनि त्यही स्थानमा सञ्चालन गर्न पाउनुपर्ने बताए । आफूले विकास कोषका कुनै पनि पदाधिकारी र कर्मचारीलाई कुनै प्रकारको धम्की या दबाब नदिएको जिकिर गरे । कर्मचारीहरु भने एकअर्कालाई दोष दिएर नाटक भइरहेको दावी गर्छन् । कोषले चाहेमा एकैदिनमा पुस्तक पसल हटाउन सक्ने ती कर्मचारीको दावी छ ।
यस्तै, शान्ति दीपको अगाडि पश्चिमतर्फको सिम्बोलिक पेभिलियोन भवन पनि वर्षौदेखि चिया खाजा पसलका लागि निःशुल्क रूपमा प्रयोग हुँदै आएको छ । कोषका अनुसार स्थानीय महिलाहरूले सम्झौता बिना नै आमा क्याफे नाममा चिया खाजा पसल सञ्चालन गर्दै आएका छन् । यस्तै, कोषसँग सम्झौता गरेर सञ्चालन गरिएका होटेल तथा पसलहरूले पनि वर्षौदेखि भाडा बुझाएका छैनन् । विकास कोषले बसपार्क, विश्व शान्ति स्तुपा, शान्ति दीप प्रवेश गर्ने गेट बाहिर लगायत विभिन्न स्थानमा हस्तकला, खेलौना, माला पसल तथा होटेल सञ्चालनका लागि भाडामा लगाउँदै आएको छ ।
विकास कोषभित्र पुराना ३४ र नयाँ ८६ गरी १२० वटा होटेल, चिया तथा चमेना गृह, मिठाई पसल, ह्याण्डी क्राफ्ट, खेलौना तथा माला पसलहरू सञ्चालन गरिएका छन् । अधिकांश स्थानीयवासीले सञ्चालन गरेका ती पसलहरूबाट ७४ लाख ७७ हजार २ सय रुपैयां भाडा उठ्न सकेको छैन । विकास कोषले निर्माण गरिदिएका संरचना तथा खाली स्थानमा ट्याङ्की राखेर सञ्चालन गरेबापत हरेक पसलले वार्षिक १२ हजार रुपैयाँदेखि २४ हजार रुपैयाँसम्म विकास कोषलाई भाडा बुझाउनुपर्ने सम्झौता छ । तर, पसल सञ्चालकहरूले वर्षौदेखि भाडा बुझाउने तर्फ बेवास्ता गर्दै आएको कोषका सदस्य सचिव श्रेष्ठले बताए । कतै सम्झौताविनै ब्यापार त कतै सम्झौता गर्दा समेत भाडा उठाउन नसकेको कोषबाट धेरै आशा गर्न नहुने स्थानीय बताउँछन् ।








प्रतिकृया दिनुहोस्