August 14, 2026, Friday
२०८३ श्रावण २९ शुक्रबार

बुटवलमा अव ७० माथिकालाई घरमैं निःशुल्क उपचार

Advertisement

भैरहवा–८० बर्ष माथिका ज्येष्ठ नागरिकलाई घर घरमैं स्वास्थ्य परीक्षण सहितको निःशुल्क उपचार गर्ने वारेमा लुम्बिनी पदेश सरकारले केही बर्ष अघि निर्देशिका बनायो । तर कार्यान्वयनमा भने ल्याउन सकेन । निःशुल्क उपचार गर्न खोजिएका ज्येष्ठ नागरिकहरुको सँख्याको आधारमा आवश्यक पर्ने उपकरण, जनशक्तिको व्यवस्थापन, औषधी उपलब्ध गराउन नसकेपछि प्रदेश सरकारको यो कार्यक्रम निष्कृय अवस्थामा छ ।

Advertisement

प्रदेश सरकारको यो स्वास्थ्य कार्यक्रम कार्यान्वयनमैं आउन नसकेको अवस्थामा बुटवल उपमहानगरपालिकाले भने ज्येष्ठ नागरिकका लागि एक पछि अर्को निःशुल्क स्वास्थ्य उपचार कार्यक्रम ल्याएको छ ।
६० बर्ष माथिका ज्येष्ठ नागरिककालागि छ–छ महिनामा वडाका स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य सिवीर मार्फत् निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको बुटवल उपमहानगरपालिकाले अव ७० बर्षदेखि माथिकालाई बिशेषज्ञ चिकित्सक र ल्याब परीक्षण सहित घर घरमैं स्वास्थ्य जांच सहितको निःशुल्क उपचार गारउने तयारीमा जुटेको छ ।

‘बा–आमासंग नगर प्रमुख स्वास्थ्य उपचार कार्यक्रम’ मार्फत् उपमहानगरपालिकाले यो सेवा उपलब्ध गराउन लागेको हो । वडा स्वास्थ्य केन्द्रहरुको स्वास्थ्य सिवीरमा आउन नसक्ने ६० बर्ष भन्दा माथिका र अपाङ्ग बिरामीलेपनि यो सेवा अव घरमैं पाउने छन् । बिशेषज्ञ चिकित्सक, ल्याव परीक्षण र औषधी सहितको यो उपचार सेवा घरमैं पुर्र्याउने वुटवल मुलुकमैं पहिलो स्थानिय तह हुने दावी उपमहानगरपालिकाको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरका अभिभावकहरूलाई बुढेसकालमा अस्पतालसम्म धाउनुपर्ने बाध्यताको अन्त्य गर्न बिशेषज्ञ चिकित्सक, आधुनिक ल्याव परीक्षण र औषधी सहितको निःशुल्क उपचार सेवा उपलब्ध गराइने बताए । ‘बुढेसकालमा अस्पतालसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्न दुई बर्ष अघिदेखि थालिएको ज्येष्ठ नागरिक स्वास्थ्य उपचार कार्यक्रमलाई अझ प्रभावकारी बनाउन नगरपालिकाको आफ्नै पहल र व्यवस्थापनमा स्वास्थ्य सेवाको दायरालाई बढाइएको हो’ नगरप्रमुख पाण्डेले भने ।

उनका अनुसार, हिंडडुल गर्न नसक्ने, घरमा स्याहार गर्ने नभएर वेसहारा अवस्थामा पुगेका र आर्थिक अभावले बिशेषज्ञ सहितको गुणस्तरीय स्वास्थ्य उपचार सेवाबाट बञ्चित हुनु परेका ज्येष्ठ नागरिकको अवस्थालाई लक्षित गरी नगरपालिकाले उनीहरुलाई प्रदान गर्दै आएको स्वास्थ्य सेवालाई बिस्तार गरिएको हो ।

बैशाखको दोश्रो हप्तादेखि यो सेवा उपलब्ध गराउने तयारी नगरपालिकाले गरेको छ । लक्षित समूहको घर घरमा आधुनिक प्रयोगशाला पुर्याउनकालागि लुम्बिनी प्रदेश प्रयोगशालासंग र बिशेषज्ञ चिकित्सकका निम्ती बुटवलस्थित लुम्बिनी प्रादेशिक सहित डेढ दर्जन संख्यामा रहेका निजी अस्पतालसंग सम्झौता गर्ने अन्तिम तयारीमा नगरपालिका छ ।

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले सम्झौताका लागि लुम्बिनी प्रदेश प्रयोगशाला र बुटवल क्षेत्रका निजी अस्पतालसंग छलफल भैसकेकाले अति चाँडो सम्झौता हुने बताए । ‘घर घर मा पुर्याउन लागिएको यो स्वास्थ्य सेवा बिरामीको आवश्यकता अनुसार र फलोअपलाईपनि निरन्तरता दिने योजना छ’ पाण्डेले भने, ‘सुरुमा बिरामीको ल्याव परीक्षण गर्ने छौं र त्यसको भोलीपल्ट बिशेषज्ञ चिकित्सक सहित औषधी ।’

पाण्डेका अनुसार, बा–आमासंग नगर प्रमुख स्वास्थ्य उपचार कार्यक्रम अन्र्तगत प्रथम चरणमा ६० बर्ष देखि माथिका सवै ज्येष्ठ नागरिकका निम्ती बुटवल उपमहानगरपालिकाले नगरका १९ वटै वडा कार्यालयमा छ–छ महिनामा स्वास्थ्य सिवीर सञ्चालन गरि २०८१ देखि निःशुल्क उपचार सेवा उपलब्ध गराउदै आएको हो । छ महिना अघिको सिवीरमा २ हजार २ सय भन्दा धेरै ज्येष्ठ नागरिकले सेवा लिएको तथ्याङ्क नगरपालिकासंग छ । कार्यक्रमको दोश्रो चरणमा घर घरमा यो सेवा पुर्र्याइएपछि ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार धेरै प्रभावकारी हुने बिश्वास नगरपालिकाको छ ।

मुलुकमैं पहिलो पटक ज्येष्ठ र अपाङ्ग नागरिकका निम्ती यस खालको उपचार सेवा उपलब्ध गराउन खोजिएको उनले जनाए ।

नगर प्रमुख पाण्डेका अनुसार, ७० बर्ष भन्दा माथिका बृद्धबृद्धाको घमा पुग्दा धेरैको घरमा छोरा बुहारी रोजगारी तथा व्यवसायका निम्ती बिदेश वा घर बाहिर रहेको र उनीहरुको स्याहारसुसार गर्न अति आवश्यक देखिएकाले यो कार्यक्रम सञ्चालन गर्नलागिउको हो । ‘ज्येष्ठ नागरिकको सम्मानका लागि र उनीहरुको आत्मबल उठान यस खालको स्वास्थ्य कार्यक्रम लागु गर्न खोजिएको हो’ पाण्डेले भने, ‘यस खालको कार्यक्रम गर्नु राज्यको पनि दायीत्व हो ।’