नयाँ बर्ष विगतको समीक्षा गर्दै भविष्यको स्पष्ट दिशामा अघि बढ्ने अवसर: मुख्यमन्त्री आचार्य


भैरहवा–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ वर्ष, पात्रो परिवर्तन मात्र नभई विगतको समीक्षा गर्दै भविष्यको स्पष्ट दिशातर्फ अघि बढ्ने महत्वपूर्ण अवसर भएको बताएका छन् ।
नयाँ वर्ष २०८३ को अवसरमा मंगलवार शुभकामना सन्देश दिंदै मुख्यमन्त्री आचार्यले आशा, उत्साह र नयाँ संकल्पका साथ सकारात्मक ऊर्जा र सामूहिक जिम्मेवारीका रूपमा नया बर्षलाई लिनुपर्ने बताए । नयाँ वर्ष २०८३ ले सबै नेपालीमा सकारात्मक सोच, एकता र सहकार्यको भावना अभिवृद्धि गर्दै समृद्ध प्रदेश र समुन्नत नेपालको यात्रामा थप ऊर्जा प्रदान गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।
वर्तमान परिवेशमा राजनीतिक स्थायित्व, सुशासन र विकासबीचको समन्वय अत्यन्त आवश्यक रहेको उनले औंल्याएका छन् । सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले जनाएका छन् । जनचाहना अपेक्षा अनुसार सेवाप्रवाहलाई सहज, प्रभावकारी र जनमैत्री बनाउनेतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेकोपनि उनले बताए ।
संविधानले प्रत्याभूत गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनमार्फत प्रदेशको दिगो विकासका लागि विभिन्न नीति, कार्यक्रम र योजनाहरू कार्यान्वयनमा रहेको उनले जनाएका छन् । उनका अनुसार, स्थानीय स्रोत, साधन र उत्पादनमा आधारित उद्यमशीलता प्रवर्धन, नवप्रवर्तन तथा रोजगारी सिर्जनामा प्रदेश सरकारले विशेष जोड दिएको छ ।
शून्यबाट सुरु भएको प्रदेश संरचनालाई संस्थागत गर्दै सबल, सक्षम र उत्तरदायी शासन प्रणाली निर्माणमा उल्लेखनीय प्रगति हासिल भएको दाबी उनले गरेका छन् ।








प्रतिकृया दिनुहोस्