बाँकेमा मोडिफाइ गरिएका सवारी साधन नियन्त्रण अभियान


नेपालगन्ज–जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ६ सय ८५ वटा सवारी साधनबाट मोडिफाइ गरि जोडिएका ११ सय ७४ वटा फोकस लाइट, फग लाइट र हेडलाइट हटाएको छ ।
यी फोकस लाइट, फग लाइट र हेडलाइट दुर्घटनाको प्रमुख कारण मानिएको छ । सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले अवैध रूपमा मोडिफाई गरिएका सवारी साधन नियन्त्रण तथा नियमन गर्ने अभियान सञ्चालन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले बाँकेमा बढ्दो सवारी दुर्घटनाका कारणबारे अध्ययन गर्दा अधिकांश दुर्घटनामा यिनै अतिरिक्त लाइटहरू जिम्मेवार देखिएपछि कारबाही अभियान सञ्चालन थालिएको बताए । शाहीका अनुसार, फोकस र फग लाइटका कारण विपरीत दिशाबाट आउने सवारीका चालकलाई अगाडिको बाटो स्पष्ट देखिँदैन र दुर्घटना हुने जोखिम बढ्छ । त्यसैले यस्ता लाइट हटाउने अभियान ट्राफिक प्रहरीले सञ्चालन गरेको हो ।
‘यो अभियान जिल्लाभर सञ्चालन गरिएको छ । मोटरसाइकल, अटोरिक्सा, कार तथा ठुला सवारी साधनबाट अतिरिक्त फोकस, फग तथा शो लाइटहरू हटाउन थालिएको छ’ शाहीले भने, ‘यसले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास छ ।’
अभियानका क्रममा ट्राफिक प्रहरीले बसमा अनाबश्यक रुपमा सजावटकालागि प्रयोग गरिएका करिब २ सय वटा फूल, झल्लर र माला पनि हटाएको छ । यस्ता सजावटका सामग्रीले चालकको दृष्य अवरुद्ध गरी दुर्घटनाको जोखिम बढाउने भएकाले हटाइएको भनाइ ट्राफिक प्रहरीको छ ।








प्रतिकृया दिनुहोस्