August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

एआई प्रविधिको एक्सेरेबाट लुकेर रहेका क्षयरोगीको खोजविन

Advertisement

पाल्पा– पाल्पाको पूर्वखोला गाउँपालिकामा अत्याधुनिक ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (ए आई) प्रविधियुक्त एक्सरे मेसिनमार्फत क्षयरोगका बिरामी पहिचान गर्ने विशेष अभियान सञ्चालन गरिएको छ । क्षयरोग नियन्त्रण कार्यक्रम अन्तर्गत सञ्चालित अभियानले पूर्वखोलका दुर्गम क्षेत्रका सयौ नागरिकलाई गाउँघरमै अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गरेको छ ।

Advertisement

गाउँपालिकाको आयोजना, स्वास्थ्य कार्यालय पाल्पाको समन्वय र विएनएमटी नेपालको प्राविधिक सहयोगमा सम्भावित क्षयरोगीहरुको खोज पडताल कार्यक्रम सञ्चालन भएको हो । पालिकाको वडा नं. ५ बीरकोट स्वास्थ्य चौकी र वडा नं. १ सिलुवा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरी शंकास्पद बिरामीहरूको परीक्षण गरेको हो । पालिकालाई क्षयरोग मुक्त बनाउने उद्देश्यले शिविर संचालन गरिएको गाउँपालिकाकाले जनाएको छ ।

समुदायमा लुकेर रहेका क्षयरोगका बिरामीहरूलाई छिटोछरितो ढंगले पत्ता लगाउन एआई एक्सरे प्रविधि प्रयोग गरेको, सामान्य एक्सरेमा नदेखिने सूक्ष्म समस्याहरू पनि यो प्रविधिले तत्काल पहिचान हुने भएकाले उपचार प्रक्रियामा समेत सहज हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए ।

वडा नं. ५ विरकोट स्वास्थ्य चौकीमा १८७ जनाको परक्षिण गरिएकोमा ३४ जना शंकास्पद विरामी भेटिएको र १ जनाको तत्कालै उपचार शुरु गरिएको छ । यसैगरी वडा नं. १ को सिलुवा स्वास्थ्य चौकीमा २८० जनाको परीक्षण गरिएकोमा ४५ जना क्षयरोगीका शंकास्पद विरामी भेटिएको र ३ जनाको तत्कालै उपचार शुरु गरिएको छ । दुबै स्वास्थ्य चौकीमा परीक्षणको क्रमा भेटिएका शंकास्पद क्षयरोगीहरुको थप परीक्षणको लागि तानसेनको मिसन अस्पताल रिफर गरिएको छ ।

एआई प्रविधि एक्सरेले फोक्सोको तस्बिरलाई सफ्टवेयरमार्फत विश्लेषण गर्छ र क्षयरोगको सम्भावनालाई प्रतिशतमा देखाउँछ । यो प्रविधिबाट परीक्षण गर्दा लुकेर बसेका नयाँ क्षयरोगीका विरामी पत्ता लगाएर उपचारमा ल्याउने र अरुलाई सर्न नदिने शिविरका प्राविधिक साझेदार विएनएमटी नेपाल पाल्पा परियोजना संयोजक सुदीप पौडेलले जनाए ।

एआई प्रविधिले स्वास्थ्यकर्मीको कार्यक्षमतामा सहयोग पुर्याउँछ । एक्सरे गर्ने वित्तिकै फोक्सोमा भएका दाग वा संक्रमणलाई मानव आँखाले भन्दा सूक्ष्म रूपमा विश्लेषण गर्छ । सुरुवाती अवस्थामै रोग पत्ता सहयोग पुर्याउँछ, जसले गर्दा बिरामीको ज्यान जोगिने र अरूलाई सर्ने जोखिम निकै कम हुन्छ ।

समुदायमा लुकेर बसेको क्षरोगका विरामीहरु खोजपडताल, सानो भन्दा सानो लुकेर बसेको व्याक्टेरिया पत्ता लगाउन सजिलो हुन्छ । छाती खराव र लक्षण मिल्दो छ भने तत्काल खकार जाँच गराई क्षयरोगका विरामीको एकिन गर्न सकिन्छ । अरु एक्सरे मेसिन भन्दा एआई प्रविधिले विरामी पत्ता लगाउन सजिलो भएको शिविरमा सहभागी चिकित्सक यसोधरा आधारभूत अस्पताल कपिलबस्तुका मेडिकल अधिकृत अमूल्यकुमार पाठकले जनाए ।

शंकास्पद क्षयरोगी विरामीको अवस्था बढी रहेको तथ्यांकको आधारमा पालिकाले विभिन्न संघसंस्थाको सहकार्यमा गाउँगाउँबाट क्षयरोगका विरामीहरु खोजेर उनीहरुलाई समयमै उपचारको लागि पूर्वखोला गाउँपालिकाले खोजपडताल शिविर संचालन गरेको हो । उमेर बढ्दै गएपछि रोग प्रतिरोधात्क क्षमता कमजोर हुँदै जाने, क्षयरोगका किटाणुले आक्रमण गर्ने र ज्यान पनि जान सक्ने भएकोले शिविरको आयोजना गरिएको वडा नं. ५, विरकोटका अध्यक्ष विष्णुकुमार पल्लीले बताए ।

क्षयरोग अन्त्य गर्ने विश्वव्यापी लक्ष्यलाई सार्थक बनाउन पूर्वखोलामा सञ्चालित यो अभियानले जनचेतना जगाउनुका साथै स्वास्थ्य पहुँचमा नयाँ आयाम थपेको छ । दुई दिनसम्म चलेको यस शिविरबाट बीरकोट र सिलुवा क्षेत्रका सयौँ नागरिक लाभान्वित भएका छन ।