August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

अन्तिम वर्षमा सिद्धबाबा सुरुङमार्गको काम सेलायो

Advertisement

भैरहवा– निर्माण सकिन एक वर्ष बाँकी रहेका बेला सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सुरुङमार्ग निर्माणको काम सेलाएको छ । अहिलेसम्म उक्त सुरुङ मार्गको ६७.२७ प्रतिशत भौतिक प्रगति भएको छ ।

Advertisement

आयोजनाका अनुसार २०८३ चैत्र ८ गतेसम्म निर्माण पूरा गर्ने सम्झौता छ । यस आयोजना अन्तर्गत सुरुङ ‘ब्रेक थ्रु’ सम्म तीव्र गतिमा काम भएको थियो । अहिले काम सुस्त भएको हो । पाल्पाको तिनाउ–३, दोभानस्थित बुटवल–पाल्पा खण्डमा सिद्धबाबामा सुरुङमार्ग निर्माण भइरहेको छ । यसका सम्पूर्ण संरचना डिजाइन, निर्माण तथा मर्मतको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएको छ । सुरुङ मार्ग अन्तर्गत मुख्य टनेलको इन्भर्ट र लाइनिङको काम सकिएको छ ।

यो टनेल १ हजार १ सय २६ मिटर छ । सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख नवराज बास्तोलाका अनुसार पछिल्लो समयमा आवश्यक कामहरू भइरहेको छ । सुरुङको उत्तर र दक्षिणतर्फको ३७ मिटर पोर्टलको काम अहिले भइरहेको छ । मुख्य सुरुङ अन्तर्गत चौडाइ ९.९ मिटर, उचाइ ११.५ मिटर हुनेछ । दुई लेनको सडकमा जेट फ्यान १५ वटा रहनेछ । डिजाइनको आयु भने सय वर्ष रहेको योजना कार्यालयका प्रमुख बास्तोलाले बताए ।

६० किलोमिटर प्रतिघण्टा गतिमा सवारी चलाउन सकिने सुरुङमा दुईतर्फी, दुई लेन हुनेछ । ब्लाष्टिङ र ड्रिलिङ गरिएको सुरुगको तीन वटा बाइपास छन् । काम सुरु भएको मितिले १ हजार ८२५ दिनमा काम सम्पन्न गर्नुपर्ने हो । यो सुरुङको वारेन्टी, सञ्चालन तथा मर्मत सम्हार कार्य पनि ५ वर्षको सम्झौतामा उल्लेख छ ।

तर लुकेका दोष दायित्व अवधि भने १० वर्षको हुनेछ । नेपाल सरकारको आफ्नै स्रोतबाट सुरुङ निर्माण भइरहेको हो । योजना अन्तर्गत सिद्धार्थ राजमार्गको २ हजार ३ सय ९८ मिटर सडक सुधार गर्नुपर्ने छ । मुख्य सडक ९०४ मिटर, सुरुङको क्षेत्र ९ सय ४४ मिटर, मुख्य सडक थप ५५० मिटर सडक सुधार गर्ने सम्झौतामा छ । पछिल्लो पटक चैत १८ गतेसम्म सिद्धबाबा सुरुङमार्गको काम ६५.२७ भौतिक र ५८.६५ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । तर, पछिल्लो समय काममा ढिलाई भएको आयोजनाले जनाएको छ ।