प्रादेशिक अस्पताल भवनका ठेकेदारले दुई अर्ब भुक्तानी पाएनन्


बुटवल– बुटवलस्थित लुम्बिनी प्रदेश अस्पतालको आधुनिक भवन निर्माण गरिरहेका ठेकेदारले भुक्तानी पाउन सकेका छैनन् । प्रदेश सरकारले गौरवको आयोजना घोषणा गरे पनि निर्माण व्यवसायीलाई रकम दिन सकेको छैन । अहिले प्रादेशिक अस्पतालको १२ तलाको भवन निर्माण भइरहेको छ ।
यसको निर्माणको काम गरिरहेको ‘क्यापासाइट–आशिष–रेलिगेयर’जेभी कम्पनीले सरकारबाट भुक्तानी नपाएको हो । दुई तला अन्डरग्राउन्डसहित १२ तले भवन बनिरहेको छ । अहिले अन्डरग्राउन्डको काम सकिएको छ । माथिल्लो तेस्रो तला ढलान भएर चौथोको काम चलिरहेको छ । भवन निर्माणका लागि अहिले पनि दैनिक ३ सय भन्दा बढी कामदार खटिएका छन् ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोखरेलका अनुसार अहिलेसम्म परियोजनाको ३७ दशमलब २१ भौतिक र २७ दशमलव ३३ प्रतिशत भौतिक प्रगति देखिएको छ । परियोजना तयार गर्दा ८ अर्ब ९९ करोड ६४ लाख अनुमानित लागत थियो । २०८५ पुस २५ गते भित्र भवन निर्माण सम्पन्न गर्ने गरी २०८० पुष २६ मा सरकार र निर्माण कम्पनीबीच ७ अर्ब १५ करोड ९४ लाख ७३ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायीले सम्झौताको २५ महिनामा ३७ प्रतिशत भौतिक प्रगति गरेको हो ।
निर्माण सम्झौता र कार्यप्रगति अनुसार सरकारले निर्माण व्यवसायीलाई ५ अर्ब २२ करोड रकम भुक्तानी गर्नुपर्ने देखिन्छ । तर, अहिलेसम्म सरकारले ३ अर्ब ४० करोड मात्र भुक्तानी गरेको छ । परियोजनाका साइट इन्चार्ज इन्जिनियर शंकर सुवेदीका अनुसार निर्माण कार्यप्रगति अनुसार पहिलो वर्ष सरकारले १ अर्ब २० करोड भुक्तानी गर्नु पर्ने थियो । तर, ६० करोड मात्र भुक्तानी गरेको थियो । दोस्रो वर्ष व्यवसायीले २ अर्ब ५३ करोड (अघिल्लो वर्षको ६० करोडसहित) को बिल पेस गरेको थियो । त्यसमा १ अर्ब ८० करोड मात्र भुक्तानी गरेको थियो ।
अघिल्लो वर्षको बाँकी भुक्तानीसहित चालु वर्ष २ अर्ब २२ करोडको बिल पेस गर्दा १ अर्ब मात्र भुक्तानी भएको छ । झण्डै २ अर्ब ५५ करोड भुक्तानी गर्न बाँकी छ । ठेक्का सम्झौता अवधिमा भुक्तानी दिन नसकेको खण्डमा सरकारले राष्ट्र बैंकको बेस रेटमा ३ प्रतिशत थप गरेर निर्माण व्यवसायीलाई जरिवाना तिर्नुपर्ने उल्लेख छ ।
निर्माण कम्पनीले जरिवाना दाबी गर्दाको अवस्थामा साइटमा झारिसकेको सामानको आयात र निर्यात दुवैको भाडासमेत सरकारले तिर्नुपर्ने सम्झौतामा उल्लेख छ । अस्पताल भवनमा ७ सय शय्या निर्माण हुने छन् ।








प्रतिकृया दिनुहोस्