गौतमबुद्ध विमानस्थलमा पूर्णआपतकालीन पूर्वाभ्यास


भैरहवा– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा आपतकालीन पूर्वअभ्यास गरिएको छ । शुक्रबार जहाजमा आगलागी भएको संकेत गरी पूर्वाअध्यास गरिएको हो ।
पूर्वअध्यासका क्रममा विमानस्थलको टावर धावनमार्गमा अवतरणका क्रममा विमान दुर्घटना भएको खबर आयो । निमित्त महाप्रवन्धक श्यामकिशोर साहले सूचना प्राप्त हुनासाथ जिल्लास्थित जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत सरोकारवालालाई खबर पुर्याए ।
अस्पतालमा बेडहरु घाइतेको उपचारका लागि तयार राखियो । थाइल्याण्डबाट भैरहवामा आएको ठूलो जहाज भएकाले धेरै जना घाइते हुनसक्ने भन्दैं जिल्लास्थित एम्वुलेन्सलाई बोलाइयो । प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मी तम्तयार भए । आगो निभाउन विमानस्थलका वारुणयन्त्र सक्रिय भए । दुर्घटनाको सूचना छिटो पुर्याइएका कारण सरोकारवाला निकायले प्रभावकारी भूमिका निभाउन पाए । जसले गर्दा जनधनको क्षति कम भयो ।
माथि उल्लेखित विवरण शुक्रबार बिहान गौतमबुद्ध विमानस्थलमा प्रदर्शन गरिएको नमूना पूर्ण आपतकालीन उद्धार अभ्यासको हो । अभ्यासका क्रममा काल्पनिक रुपमा विमान दुर्घटनामा परेर आगो लागेकोदेखि मानवीय क्षति भएको देखाइएको थियो । घाइतेको उद्धारमा कसरी जनशक्तिदेखि आवश्यक यन्त्र परिचालन गरिन्छ भनेर देखाइएको थियो । अभ्यासमा सरोकारवालादेखि स्थानीय पनि उपस्थित थिए ।
यस्ता उद्धार प्रभावकारी तुल्याउन विमानस्थलमा बिहान पूर्ण आपतकालीन उद्धार अभ्यास गरिएको हो । अन्तर्राष्ट्रिय नियम अनुसार दुई–दुई वर्षको अन्तरालमा पूर्ण आपतकालीन उद्धार अभ्यास गर्नुपर्छ । विमानस्थलका अनुसार गत वर्ष आंशिक आपतकालीन उद्धार अभ्यास गरिएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको खण्डमा आपकालीन उद्धार कार्य कसरी प्रभावकारी ढंगले गर्न सकिन्छ भनेर यस्तो अभ्यास गरिँदैं आएको साहले जनाए । ‘अन्तर्राष्ट्रिय विमानस्थलमा यदाकदा दुर्घटना भइहालेमा कसरी प्रभावकारी उद्धार कार्य गर्ने भनेर यो अभ्यास गरिएको हो,’ विमानस्थलका निमित्त महाप्रबन्धक साहले भने, ‘यस्ता दुर्घटनाबाट हुने जनधनको क्षति कसरी कम गर्ने भन्ने अभ्यास हो । यसबाट सकै निकायलाई चनाखो हुन सिकाएको छ ।’
उनका अनुसार आंशिक अभ्यासमा विमान दुर्घटनाका न्युन क्षति देखाइन्छ । पूर्ण अभ्यासमा मानवीय क्षति भएको कल्पना गरेर अभ्यास गरिँदैं आएको छ । शुक्रबार विमानस्थलको अगुवाईमा भएको अभ्यासमा जिल्लास्थित प्रशासन, सेवा, नेपाली सेना, सशस्त्र र नेपाली प्रहरी, अस्पतालहरु, रेडक्रस, रक्तसंचार, एम्वुलेन्स सेवा प्रदायक, वायु सेवा कम्पनीका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायत उपस्थित थिए ।
अभ्यासका क्रममा थाइल्याण्डबाट भैरहवाका लागि उडान भरेको विमान अवतरणका क्रममा गौतमबुद्ध विमानस्थलको धावनमार्गमा दुर्घटना भएर आगो लागेको नमूना प्रदर्शन गरिएको थियो । विमानमा आगलागी भएपछि त्यहाँ रहेका वारुणयन्त्रले आगो निभाएका थिए । सुरक्षाकर्मीले तत्काल उद्धार खटिएका थिए । एम्वुलेन्सले घाइतेलाई तत्काल अस्पताल पुर्याएका थिए ।
सामान्य घाइतेको विमानस्थलमै प्राथमिक उपचार गरिएको थियो । यसका लागि जिल्लास्थित सरोकारवाला निकायको सहभागितामा समन्वय, उद्धार र कमाण्ड टिम बनाइएको थियो ।
छिटो उद्धारका लागि उद्धारमा खटिनेहरुलाई दक्षता आवश्यक हुन्छ । त्यही दक्षता हासिल गर्न तालिमका रुपमा यस्तो अभ्यास गरिएको उनले बताए । अभ्यास कार्यमा विमानस्थलका कर्मचारीसँगैं बुटवलस्थित नेपाली सेनाको २२ नम्बर बाहिनीपति सहायक रथी विमलराज शर्मा, कालिभक्ति गणका प्रमुख सेनानी विरेन्द्रवहादुर सिंह, प्रहरी उपरीक्षक जनक शाही, सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहरा, सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, गौतम बुद्ध विमानस्थलका प्रहरी उपरीक्षक पुष्पराज मल्ल लगायत सरकारी कार्यालय, अस्पताल र मेडिकल कलेजका प्रतिनिधि सहभागी थिए ।








प्रतिकृया दिनुहोस्