नेपाली प्रवेश गराएर जुवा खेलाउने क्यासिनोमा प्रहरीको छापा, ६ जना रंगेहात पक्राउ


भैरहवा– रुपन्देहीको क्यासिनोको बद्मासी फेरि उजागर भएको छ । प्रहरीले क्यासिनोमा प्रवेश गरेर जुवा खेलिरहेका नेपालीलाई पक्राउ गरेसँगै क्यासिनोको बद्मासी पुनः एकपटक उजागर भएको हो ।
नेपाली नागरिक प्रवेश गराएर जुवा खेलाउने रुपन्देहीको एक क्यासिनोमा प्रहरीले बुधबार राति छापा मारेको थियो । मध्येरात उक्त क्यासिनोमा छापा मारेर प्रहरीले जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । रुपन्देहीका क्यासिनोले नेपाली प्रवेश गराएर जुवा खेलाउने आरोप लाग्दैं आएको थियो । पहिलो पटक प्रहरीले छापा मारेर क्यासिनो भित्रबाट नेपाली पक्राउ गरेको हो ।
यसअघि भैरहवाको एक क्यासिनो भित्र नेपाली र भारतीय ग्राहकबीच सुरु भएको झगडा गोली प्रहारसम्म पुगेको थियो । त्यतिबेला सञ्चालकले क्यासिनो बाहिर झगडा भएको दाबी गरेका थिए । क्यासिनोमा नेपालीको प्रवेशलाई लिएर पर्यटन विभाग लगायत नियमन निकायले आँखा चिम्लिने गरेको आरोप लाग्दैं आएका थिए । पछिल्लो पटक मुलुकमा नयाँ सरकार बनेपछि कडाई थालिएको हो ।
पछिल्लो पटक बुधबार राति रुपन्देहीको तिलोत्तमा–५, मणिग्रामस्थित एक क्यासिनोभित्र जुवा खेलाउने र खेल्दैं गरेको अवस्थामा ६ जना पक्राउ परेका छन् । बुधबार राति जिल्ला प्रहरीबाट प्रहरी नायव उपरीाँकको नेतृत्वमा खटिएको टोलीले क्यासिनोमा जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
मणिग्राममा रहेको सीएमजी क्लब क्यासिनोमा जाँच गर्दा जुवा खेलाउने र खेलिरहेका नेपाली नागरिकसहित नगद र दशीका सामानसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार जुवा खेलाउने कार्यमा संलग्न आरोपमा सर्लाहीको बरहथवा–८ का मुकेशकुमार श्रेष्ठ र ललितपुरको गोदावरी नगरपालिका–१५, का अजय केसी पक्राउ परेका छन् । जुवा खेलिरहेको अवस्थामा रुपन्देहीको बुटवल–१२ का गोबिन्द शर्मा, बुटवल–९ का बासुदेव गौतम र कृष्ण गौतम, बुटवल–११, का चन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी कुष्णकुमार चन्दले बताए ।
उनका अनुसार क्यसिनोबाट २ दुई १७ हजार ३ सय ९० नेपाली रुपैयाँ र तीन हजार ५ सय भारतीय रुपैयाँ नगद बरामद गरिएको थियो । यस बाहेक १ लाख २५ हजारका क्यासिनो क्वाइन, विभिन्न कम्पनीका ६ थान मोवाइल सेट र ७ गड्डी तास बरामद गरिएको चन्दले बताए ।








प्रतिकृया दिनुहोस्