सिद्धार्थ क्रिकेट मैदानलाई बहुवर्षीय ठेक्का लगाउन सांसद अग्रवालको माग


भैरहवा– प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान निर्माणको कामलाई अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार प्रतिनिधि सभा बैठकमा आफ्नो भनाइ राख्दै अग्रहवालले रंगशालाका लागि संघीय सरकारले विनियोजन गरेको तीन करोड रुपैयाँ तत्काल फुकुवा गर्न माग गरिन् ।
उनका अनुसार आर्थिक वर्ष २०८२–०८३ का लागि सरकारले उक्त बजेट विनियोजन गरेको थियो । बजेट निकासा नगरिँदा रंगशालाको विकास अवरुद्ध भएको उनले बताइन् ।
चालू वर्षका लागि संघीय सरकारले विनियोजन गरेको बजेट निकासा नगरिएकाले तत्काल फुकुवा गर्न माग उनले गरेकी हुन् । बजेट निकासा नहुँदा रंगशालाका बाँकी निर्माणका काम प्रभावित भएको उनको भनाइ थियो । उनले अर्थमन्त्रीलाई उक्त रकम फुकुवा गरी काम अगाडि बढाउन आग्रह गरिन् ।
सांसद अग्रवालले आगामी आर्थिक वर्षको बजेटमा सिद्धार्थ रंगशालालाई बहुवर्षीय आयोजना अन्तर्गत राखेर बजेट व्यवस्था गर्न समेत माग गरिन् । उनका अनुसार २०६८ सालबाट निर्माण सुरु भएको रंगशालाको अहिलेसम्म ३० प्रतिशत मात्र भौतिक प्रगति छ ।
१४ हजार दर्शक अट्ने क्षमताको रंगशालाको २०७६ सालमा गुरुयोजना निर्माण गरिएको थियो । उक्त गुरुयोजना पूरा गर्न ८४ करोड रुपैयाँ बजेट खर्च लाग्ने जनाइएको छ । ‘क्रिकेट विश्वकै लोकप्रिय खेलमध्ये एक हो, नेपालमा यसको लोकप्रियता झन् तीव्र रूपमा बढिरहेको छ,’ उनले भनिन्,’ युवाहरू क्रिकेटतर्फ आकर्षित भइरहेका छन्, र नेपाली खेलाडीहरूले देशको नाम विश्वमञ्चमा गुञ्जायमान बनाइरहेका छन् । यो हामी सबैलाई थाहा भएकै कुरा हो ।’
यस्तो अवस्थामा देशभित्र अन्तर्राष्ट्रिय स्तरका खेल संरचना तीव्र रूपमा विकास हुनुपर्नेमा सिद्धार्थनगरस्थित अन्तर्राष्ट्रिय स्तरको सिद्धार्थ क्रिकेट मैदान भने करिब डेढ दशकदेखि अलपत्र परेको उनको भनाइ छ ।








प्रतिकृया दिनुहोस्