लुम्बिनीमा मनाइयो सिंचाई दिवस, पानीको स्रोत संरक्षण र सिंचित क्षेत्र विस्तारमा मुख्यमन्त्री जोड


दाङ– लुम्बिनी प्रदेशमा सिँचाइ दिवस–२०८२ मनाइएको छ । प्रभावफेरिसहित समारोह गरेर दिवस मनाइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइ व्यवस्थापन र कृषि उत्पादनबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताए ।
मुख्यमन्त्री आचार्यले जलवायु परिवर्तनका कारण नदी तथा खोलाहरु सुक्दै जानु र जमिन सुख्खा बन्दै जानु गम्भीर चुनौतीका रूपमा देखिएको उल्लेख गरे। उत्पादनशील जमिन खण्डहर बन्न नदिन समयमै बहस, छलफल र ठोस योजना आवश्यक रहेको उनको भनाइ थियो । ‘नदीहरु सुक्दै जाँदा समस्या बढ्न सक्छ । अनुकुलनका योजनाहरुलाइ प्राथमिकता दिन जरुरी छ । जलाशयहरु निर्माण गरेर पानीको स्रोत संरक्षण गर्न जरुरी छ’, उनले भने, ‘भूमिगत पानी पनि घट्दै गएको छ । खोला र नदिहरु पनि सुक्दै गए । हामी संवेदनशील भएनौं भने उत्पादनशिल जमिनहरु खण्डहर हुने अवस्था रहन्छ । वैकल्पिक रुपमा ड्याम र जलाशय बनाएर अघि बढ्न जरुरी छ ।’
उनले सिँचाइ सुविधा पुगेका क्षेत्रमै पनि जमिन बाँझो रहने अवस्था अन्त्य गर्नुपर्ने बताउँदै सरकार किसानलाई उत्पादनमा जोड्न प्रतिबद्ध रहेको स्पष्ट पारे । राज्यले लगानी गरेका सिँचाइ आयोजनाबाट अपेक्षित प्रतिफल नआउनु विडम्बनापूर्ण भएको उल्लेख गर्दै त्यस्ता क्षेत्रमा खेती विस्तार गर्नुपर्नेमा जोड दिए ।
प्रदेश स्थापना हुँदाको अवस्थामा १२ महिना सिँचाइ सुविधा पुगेको जमिन २० प्रतिशत मात्रै रहेको स्मरण गर्दै अहिले त्यो ३५ प्रतिशत पुगेको जानकारी दिए । यस उपलब्धिबाट उत्साहित हुँदै वैज्ञानिक र दिगो ढंगले सिँचाइ विकासलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री आचार्यले जलस्रोत संरक्षणका लागि जलाशय, ड्याम निर्माण तथा चुरे क्षेत्रमा पानी संरक्षणका उपायहरू लागू गर्नुपर्ने आवश्यकता औंल्याए । भूमिगत पानीको सतह घट्दै जानु र खोलानाला सुक्दै जानुले भविष्यमा ठूलो संकट निम्त्याउन सक्ने चेतावनी दिए ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले प्रदेश सरकारले बाह्रै महिना सिंचित हुने क्षेत्रको विस्तारलाई बढाइरहेको बताइन् । पूर्वमुख्यमन्त्री जोखबहादुर महराले सिँचाइ क्षेत्रलाई कृषि विकासको आधारका रूपमा प्राथमिकतामा राख्नुपर्ने बताए। पूर्वसिँचाइ मन्त्री वीरबहादुर रानाले उत्पादनमा आत्मनिर्भर बन्ने आधार तयार भइसकेको उल्लेख गर्दै किसानको मन जित्नेगरी काम गर्नुपर्ने धारणा राखे ।
प्रदेश योजना आयोगका सदस्य शान्तादेवी ढकालले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सिंचाई पूर्वाधारको सुदृढिकरणमा जोड दिइन् । प्रगन्ना कुलो सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल समन्वय समितिका सचिव भिमलाल चौधरीले कृषि क्षेत्रको विकासका लागि सरकारले सिंचाई क्षेत्र विस्तारका लागि ध्यान दिनुपर्ने जनाए ।
मन्त्रालयका सचिव चूर्णबहादुर ओलीले हालसम्म भएका प्रगतिको विवरण प्रस्तुत गरेका थिए । बबई सिँचाइ आयोजना र नौमुरे बहुउद्देश्यीय आयोजनासँग सम्बन्धित प्रतिनिधिहरुले आयोजनाको अवस्था र चुनौतीबारे धारणा राखेका थिए । कार्यक्रममा प्रगन्ना कुलो सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल समन्वय समिति, देउखुरीलाई उत्कृष्ट जल उपभोक्ता समितिका रूपमा सम्मान गरिएको छ । त्यस्तै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बर्दियाका प्राविधिक अधिकृत हरिप्रसाद अवस्थी र गुल्मीका कार्यालय सहयोगी पोमनारायण सुवेदीलाई उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत गरिएको छ ।
कार्यक्रममा विभिन्न सरोकारवाला, योजना आयोगका सदस्य, प्राविधिक तथा किसान प्रतिनिधिहरुको सहभागिता थियो । महाशाखा प्रमुख केशवराज रिजाल र मन्त्रालयका वरिष्ठ इञ्जिनियर चन्द्र रानाले सिंचित क्षेत्रको विकास र योजनाहरु बारे धारणा राखेका थिए ।








प्रतिकृया दिनुहोस्