लुम्बिनी प्रदेश सभा बैठकमा सरकारप्रति प्रश्न र सुझाव


दाङ– लुम्बिनी प्रदेश सभा सदस्यहरुले सुशासन, विकास र सेवा प्रवाहका विषयमा सरकारलाई प्रश्न गरेका छन् । यस्तै, केही प्रदेशसभा सदस्यहरुले सुझाव समेत दिएका छन् । सोमबार प्रदेशसभाको सातौं अधिवेशनको छैठौं बैठकमा बोल्दै उनीहरुले समसामयिक राजनीति र विकासबारे चासो राखेका हुन् ।
प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले संविधान कार्यान्वयन, सुशासन र जनअपेक्षा पूरा गर्न प्राथमिकतामा दिइनुपर्ने बताए । दुई तिहाइ जनादेश प्राप्त सरकारले जनताको विश्वास जोगाउन ठोस काम गर्नुपर्ने उनको भनाइ थियो । मल, बीउबिजन र राहत प्याकेज नआएकोप्रति प्रश्न उठाउँदै उनले सरकारलाई स्पष्ट जवाफ दिन आग्रह गरे ।
प्रदेश सभा सदस्य वीरबहादुर रानाले नयाँ सरकार गठनप्रति बधाई दिँदै पुराना दलहरूले केही नगरेको भन्ने भाष्य गलत भएको बताए । २०४६ सालपछि विकासको आधार तयार भएको उल्लेख गर्दै उनले संघीयताको मर्मअनुसार काम हुन नसकेको गुनासो गरे । प्रदेशलाई बलियो बनाउन स्वाभिमानमा आधारित शासन आवश्यक रहेको उनको भनाइ थियो ।
प्रदेश सभा सदस्य अम्बिका काफ्लेले महिलामाथि हुने हिंसा अन्त्य हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिन् । सांसद चन्द्रकेश गुप्ताले बलात्कारका घटनामा वृद्धि भएको भन्दै कडा कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखे ।
प्रदेश सभा सदस्य मिनाकुमारी श्रेष्ठले वार्षिक योजना कार्यान्वयनमा ढिलाइ हुँदा बजेट फ्रिज हुने अवस्था आएको बताइन् । प्रदेश सभा सदस्य राजकुमार चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे भने अर्का प्रदेश सभा सदस्य तारा थापाले कार्की आयोगको निष्पक्षतामाथि प्रश्न उठाए । यस्तै प्रदेश सभा सदस्य भूवनेश्वर चौधरीले सबै पक्षले इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए ।
प्रदेश सभा सदस्य भगवती अधिकारीले नयाँ राजनीतिक परिवेशमा जनताको जीवनस्तर सुधार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिन् । विज्ञापन नीतिले निजी सञ्चार माध्यमलाई असर पार्न सक्ने जोखिम औंल्याउँदै उनले लोकतन्त्र कमजोर बन्न सक्ने चेतावनी दिइन् ।
बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले अधिकांश योजना कार्यान्वयनमा रहेको र छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
यसैबीच वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले बैठकमा ‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गरेका छन् । प्रदेश सभाको अर्को बैठक चैत २४ गते मंगलबार दिउँसो १ बजे बस्ने छ ।








प्रतिकृया दिनुहोस्