August 14, 2026, Friday
२०८३ श्रावण २९ शुक्रबार

बुटवलको सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु

Advertisement

बुटवल– श्री सशक्त बचत तथा सहकारी संस्था लिमिटेड बुटवलले आफ्ना सदस्यलाई लक्षित गर्दै पेन्सन वितरण योजना (कार्यक्रम) सुरु गरेको छ । सहकारी क्षेत्रमै नयाँ अभ्यासका रूपमा हेरिएको यस योजनामा २० बर्ष देखि ६० बर्षसम्मको शेयर सदस्य सहभागि हुन पाउँछन् ।

Advertisement

सोमबार सहकारीले एक कार्यक्रमको आयोजना गरी पहिलो पटक ६० वर्षीय सदस्य रामप्रसाद न्यौपानेलाई मासिक १ हजार रुपैयाँका दरले पेन्सन प्रदान गर्दै यो योजना सुरु गरेको हो । सहकारी संस्थाका अध्यक्ष महेशप्रसाद पोखरेलले सामाजिक सुरक्षा सँग जोड्ने उद्देश्यले पेन्सन योजना सुरु गरेको बताए ।

सहकारीले कार्यविधिनै बनाएर १ देखि ५ हजार सम्म पेन्सन दिन सक्ने योजना बनाएका छन् । पेन्सन बचत संकलनमा १ लाख २६ हजार ५ सय जम्मा भएकाले मासिक १ हजार, २ लाख ५३ हजार संकलन गर्नेलाई २ हजार, ३ लाख ७९ हजार ५ सय संकलन गर्नेलाई ३ हजार, ५ लाख ६ हजार संकलन गर्नेलाई ४ हजार र ६ लाख ३२ हजार ५ स य संकलनगर्नेलाई मासिक ५ हजार रुपैयाँ पेन्सन दिने अध्यक्ष पोखरेलले जनाए ।

संकलित रकम पेन्सन प्राप्त गर्दा कम भने नहुने उनको भनाई छ । ‘सदस्यहरूको दीर्घकालीन हितलाई ध्यानमा राख्दै यस्तो कार्यक्रम ल्याइएको हो’m अध्यक्ष पोखरेलले भने ।

सोही कार्यक्रममा कार्यालय व्यवस्थापन तथा लेखासम्बन्धी तालिमसमेत सञ्चालन गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य ईश्वर चन्द्र भट्टराईले गरेका थिए भने सञ्चालन सचिव जीवलाल पौडेलले गरेका थिए ।

कार्यक्रममा, सल्लाहकार एवं पूर्वअध्यक्ष कृष्ण चौहान क्षेत्री, संस्थापक अध्यक्ष प्रकाश खनाल, संस्थापक सदस्य कृष्णप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै राष्ट्रिय सहकारी बैंकका कार्यालय प्रमुख नारायण बेल्बासेले सहकारी व्यवस्थापन र लेखासम्बन्धी प्रशिक्षण दिएका थिए ।

१९ करोड रुपैयाँ कुल पूँजी रहेको उक्त सहकारीमा ९ सयभन्दा बढी सदस्य आबद्ध छन् । सहकारीले आगामी दिनमा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई थप विस्तार गर्ने जनाएको छ ।