प्यूठानको ऐरावतीमा आगलागीबाट २२ घरगोठ जलेर नष्ट


प्यूठान– गर्मीयामसँगै आगलागीको जोखिम बढ्न थालेको छ । प्यूठानको ऐरावती गाउँपालिका–१ छेडाघाटमा पनि आगलागीबाट २२ घरगोठ जलेर नष्ट भएका छन् । शनिबार राति उक्त बस्तीका ८ घर र १४ गोठ जलेर नष्ट भएको ऐरावती–१, का वडाध्यक्ष अमर रेस्मी मगरले जानकारी दिए ।
स्थानीय लक्ष्मण रानाको फुसले छाएको गोठबाट सल्किएको आगोले आसपासका १३ जनाको घरगोठ जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बताए ।
आगलागीबाट देवान सिंह रानाको फुसले छाएको गोठ, विकास रानाको गोठ र लक्ष्मण रानाको गोठ पूर्णरूपमा जलेर नष्ट भएका छन् । यस्तै ईश्वरी रानाको कच्ची घरसँगै भाँडावर्तन, लत्ताकपडा, खाद्यान्न तथा ३ गोरु र १५ बाख्रा जलेर मरेका छन् ।
स्थानीय रमेश घर्तीको १ घर र १ गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । साथै ६ बाख्राको मृत्यु भएको, भाँडावर्तन, लत्ताकपडा, आधा तोला सुन र नगद ५० हजार जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ओमबहादुर रेस्मी मगरको १ घर र २ गोठ पूर्णरूपमा जलेर नष्ट भएका छन् भने ३३ बाख्रा जलेर मरेका छन् । साथै नगद ७१ हजार ५०० पनि जलेर नष्ट भएको छ ।
भूपाल रोकाको १ घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने १८ बाख्रा र १ बाख्रा जलेर मरेका छन् । नगद २ लाख र आधा तोला सुन पनि जलेर नष्ट भएको छ । गुमा रजालीको १ घर र १ गोठ, बलबहादुर रजालीको १ घर र १ गोठ, झबिन्द्र रजालीको १ घर र १ गोठ, घनबहादुर रानाको १ घर र १ गोठसँगै १५ बाख्रा, २ गोरु र ४ कुखुरा जलेर मरेका छन् । देवबहादुर रजालीको १ गोठ र १५ बाख्रा जलेर मरेका छन् । डिला रजालीको १ गोठ जलेको, १ बाख्रा घाइते भएको र २ गोरु आगलागीमा परी मरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिजुवार, प्रहरी चौकी दाङवाङ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीसहित ३० जना प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीयको सहयोगमा आइतबार बिहान करिब ७ बजे आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट ९३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।








प्रतिकृया दिनुहोस्