August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

बर्दिया निकुञ्जका वन्यजन्तु रोक्न पक्की बार

Advertisement

बर्दिया– ठाकुरबाबा नगरपालिकाले बर्दिया निकुञ्जबाट बस्तीमा पस्ने वन्यजन्तु रोक्न पक्कीबार निर्माण गरिएको छ । वन्यजन्तुबाट हुने मानवीय र अन्नबालीमा क्षति कम गर्न यस्तो बार लगाइएको नगरपालिकाले जनाएको छ ।

Advertisement

नगरपालिकासित निकुञ्जको ३२ किलोमिटर क्षेत्र जोडिएको छ । समस्या हल गर्न नगरपालिकाले १७ किलोमिटर पक्की हात्ती छेकवार निर्माण गरेको नगर प्रमुख तिलक लम्सालले बताए । ‘यस्तो बारले हात्ती, मृग, बँदेल लगायत वन्यजन्तुबाट बस्तीमा हानि कम भएर मानव र वन्यजन्तुबीच द्वन्द्वमा कमी आउनेछ,’ उनले भने, ‘यसका साथै अन्नबालीमा पनि बढोत्तरी भएको छ ।’

छेकवार निर्माणका लागि संघीय समपूरक, पालिकाको विशेष योजना, प्रदेश सरकारको अनुदान र आन्तरिक स्रोतबाट खर्च गरिएको उनले बताए । करिब १५ किलोमिटर बबई सिँचाइ आयोजनाबाट क्यानल तयार गर्दा अहिलेसम्म १६ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ । चालु वर्षमा ४ करोड ५० हजार खर्च गरेर ३ हजार ५ सय ३९ मिटर क्षेत्रमा छेकवार निर्माण अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताए ।

वन्यजन्तुको मानव बस्तीमा प्रवेश रोक्न निकुञ्ज र संरक्षणसँग सम्बन्धित संघसंस्थाले १६ वर्षदेखि विभिन्न उपाय लगाउँदै आएका छन् । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत संस्थाको सहयोगमा अहिलेसम्म पटक–पटक गरेर झण्डै ६५ किलोमिटर क्षेत्रमा विद्युतीय तार र जाली लगाइएको छ । प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्फाहाम्फेले समुदायबाट नियमित अनुगमन नहुँदा र मर्मत नगर्दा विद्युतीय तारबार छलेर वन्यजन्तु बस्तीमा पस्ने गरेको बताए ।

तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित सांसद मानबहादुर थारुको पहलमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत खैरीचन्दनपुरबाट राजापुरसम्म विद्युतीय तारबार गरिएको थियो । करिब ६० लाख रुपैयाँ खर्च गरेर बार लगाइएको थियो । डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म १५ दशमलव ८ किमि मेस फेन्सिङ गरेको वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले बताए ।

विगत केही वर्षयता चितुवाको आक्रमणका कारण मानवीय क्षति रोक्न सामुदायिक वनले मेस वायर फेन्सिङसँगै तारजाली लगाउन थालेका छन् । खाता जैविक मार्गमा मानवीय क्षति कम गर्न वनपथलगायत बस्तीमा ४ सय बत्ती जडान गरेको खाता वन समन्वय समितिले जनाएको छ । समितिका अध्यक्ष हरि गुरुङले वन्यजन्तुको निगरानीका लागि १० वटा सीसी क्यामेरा जडान गरिएको बताए ।