July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

‘लााश आइपुग्छ कि भन्ने थियो, जिउँदै आएँ’

Advertisement

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार करिब साढे ७ बजे नेपाली नागरिक बोकेर कुवेत एयरवेजको जहाज अवतरण गर्यो । जहाज अवतरण गरेको केही बेरमा मुलुकका विभिन्न जिल्लाका ३ सय १८ नागरिक विमानबाट बाहिरिए । उनीहरु जहाजबाट बाहिरिएपछि अध्यागमनसम्म लाम लाग्यो ।

Advertisement

यसरी बाहिरिने अधिकांश सामान्य नागरिक थिए । उनीहरु बैदेशिक रोजगारीका लागि कुवेत पुगेका थिए । त्यहाँ सरकारी नियम उलंग्घनदेखि विभिन्न कारणले अलपत्र परेका व्यक्ति लिएर विमान आएको थियो । यसरी फर्किएका केहीले नेपाली दूतावासलाई धन्यवाद दिइरहेका थिए । केहीले तस्बीर खिच्ने पत्रकारलाई नखिच्न भने ।

यही भीडमा रहेकी एक महिलाले कुवेतमा पाएको दुःख स्मरण गर्दै भनिन्, ‘लाश मात्र आउँछ कि भन्ने थियो, जिउँदै आउन पाएँ, यसमै खुसी छु ।’ घरेलु कामका लागि कुवेत गएकी उनले दुःख पाएको सुनाइन् । यसैक्रममा जेल परेकी उनी भागेर नेपाली दूतावासमा आएकी थिइन् । दूतावासले उनी जस्ता धेरैलाई नेपाल पठाएको हो । कुवेतबाट आएका नेपालीका कारण विमानस्थलमा मेला लागेको थियो । गौतमबुद्ध विमानस्थल हुँदै पहिलो पटक धेरै यात्रु आएका थिए ।

गौतमबुद्ध विमानस्थलका निमित्त महाप्रवन्धक श्यामकिशोर साहले अहिलेसम्मकै ठूलो जहाज यहाँ अवतरण गर्नु खुसीको कुरा भएको बताए । ‘एकचोटी यति धेरै यात्रु बोकेर ठूलो जहाज अवतरण गर्यो,’ उनले भने, ‘यसले विमानस्थलको क्षमताका बारेमा सकारात्मक सन्देश जान्छ ।’ धेरै यात्रु भएकाले अध्यागमन कक्ष भरिभराउ बनेको थियो ।

कुवेत एयरवेजको चार्टर्ड विमानबाट बुधबार साँझ ९ वटा शव पनि ल्याइएको थियो । दाङको डुडुवा गाउँपालिका–२, का खुसीराम चौधरीको शव पनि ल्याइएको थियो । शव बुझ्न उनका भतिजाहरु विमानस्थल आएका थिए । उनीहरुका अनुसार खुसीरामको फागुन ३० गते मृत्यु भएको थियो । बुधबार खुसीरामको शव मात्र नेपाल ल्याइएको हो । खुसीरामकी पत्नि, छोरा र छोरी कुवेतमै छन् । फर्किनका लागि विमानको टिकट नपाएपछि उनीहरु आउन नसकेको परिवारले बताए ।

‘उहाँको स्वास्थ्य अवस्था नर्मल थियो,’ शब बुझ्न आएका भतिजाले भने, ‘हर्ट एट्याक भएर बित्नु भएको हो ।’ परिवारका बाँकी सदस्य केही दिनमा आउने उनले बताए । सिरहाको सुखीपुर नगरपालिका–१, कि प्रमिला कुमारी राम कुवेतबाट आउने विमानको प्रतीक्षामा थिइन् । उनका आँखाले धावनमार्गको क्षितिज नियालीरहेका थिए । विभिन्न कारणले कुवेतबाट ‘डिर्पोट’ गरिएका नेपाली र अलपत्र शव लिएर कुवेत ऐयरवेजको विमान बुधबार पौने ५ बजे भैरहवा विमानस्थलमा अवतरण गर्ने जानकारी थियो ।

त्यही सूचनालाई आधार मानेर प्रमिला आफ्ना दुई सन्तान, मामा र बुवासित यहाँ आइपुगेकी थिइन् । विमानस्थल परिसरमा अरु सर्वसाधरण पनि आफन्तको पर्खाइमा थिए । तर, प्रमिलाको पर्खाइ अरुको भन्दा भिन्न थियो । उनी २१ महिना अघि परिवारको सुखको लागि धन कमाउन परदेशिएका पतिको रमेशकुमार राम (मोची) को शव कुरिरहेकी थिइन् ।

शव बुझ्ने प्रक्रियाका लागि गौतमबुद्ध विमानस्थलमा आएका रोजगार बोर्डको सचिवालयका शाखा अधिकृत आचार्यका अनुसार यी दुई बाहेक सिन्धुपाल्चोक कि सम्झना गोले, खोटाङका बसन्त राइ, उदयपुरकी कोपिला धामी, सुर्खेतकी यमुना सुनार, सल्यानका कृष्णराज बुढा, तनहुँका रमेश नेपाली र सिन्धुलीकी मन्जु मोक्तान पाख्रिनको शव ल्याइएको थियो । बोर्डको समन्वयमा शब घरघरसम्म पुर्याएको आचार्यले बताए ।