August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

‘आँखादान’का लागि युसियमयस, लुम्बिनी नेत्रालय र आँखा बैंकबीच सम्झौता

Advertisement

भैरहवा– आँखादानका लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भैरहवा (युसियमयस), लुम्बिनी नेत्रालय प्रालि, भैरहवा र नेपाल आँखा बैंक (तिलगंगा आँखा अस्पताल), काठमाडौं बीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता बमोजिम अब कुनै पनि व्यक्तिले मृत्यु पछि आफ्नो स्वेच्छाले आँखाको नानी (कोर्निया) दान गर्न चाहेमा त्यो सुविधा युसियमयस, शिक्षण अस्पताल, भैरहवामा गर्न सक्नेछ ।

Advertisement

‘आँखादान महादान’ भएकाले यस प्रकारको दानबाट दृष्टिविहीन व्यक्तिलाई नयाँ जीवन तथा उज्यालो संसार देखाउने एउटा महान कार्य पनि हो । यो कार्य मानिसको मृत्युपछि मात्र गरिने, आँखाको पूरै डल्लो दान नभई नानी मात्र दान गर्ने प्रक्रिया हो र आँखादान गर्दा अनुहार कुरुप हुँदैन । यस प्रकारको दान जुनसुकै उमेर समूह, लिङ्ग वा रगत समूह मात्र नभई चश्मा लगाएका, मोतीविन्दु वा मधुमेह भएका व्यक्तिले पनि आँखा दान गर्न सक्छन् ।

सम्झौता अनुरुप आँखा दानको सम्पूर्ण प्रक्रियाको व्यवस्थापन, स्वास्थ्यकर्मीलाई शिक्षा, तालिम, प्राविधिक विषय, परामर्श, आवश्यक कागजी प्रक्रिया, जनचेतनामूलक सामाग्री सम्बन्धमा लुम्बिनी नेत्रालय प्रालिले र कोर्नियाको संकलन, परीक्षण, सञ्चय, व्यवस्थापन, गुणस्तर कायम, वितरण तथा आवश्यक तालिमको व्यवस्था नेपाल आँखा बैंकले गर्नेछ ।

सम्झौता कार्यक्रममा युसियमयस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार पीएस, युसियमयसका प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, युसियमयसका मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा.साधन मुखी, लुम्बिनी नेत्रालयका अध्यक्ष सनतकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक हिराबहादुर शाह, तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङ्ग, नेपाल आँखा बैंकका मेडिकल डाइरेक्टर डा.लिना बज्रचार्यको उपस्थिति थियो ।