August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

भैरहवा विमानस्थलको आन्तरिक टर्मिनलमा बीएचएस जडान

Advertisement

भैरहवा–यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनललाई थप आधुनिक तुल्याइएको छ । आन्तरिक उडानका यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले प्रत्येक वर्ष सुविधा थप गरिँदैं लगिएको छ । यसैक्रममा बुधबारबाट ब्यागेज हयाण्डिलिङ सिष्टम (बीएचएस) पनि सञ्चालनमा ल्याइएको छ ।

Advertisement

स्वचालित ब्यागेज हयाण्डिलिङ सिष्टमको बुधबार बिहान नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले सुभारम्भ गरेका थिए । कर्णले स्विच अन गरेर सिष्टम चालु गरेका थिए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रवन्धक श्यामकिशोर साहले चालु आर्थिक वर्षको नियमित योजना अन्तर्गत आगमन कक्षलाई सुविधा सम्पन्न बनाउन ब्यागेज हयाण्डिलिङ सिष्टम जडान गरिएको बताए । यसले आन्तरिक उडानमार्फत भैरहवा अवतरण गर्ने यात्रुले सहज ढंगले आफ्ना सामान प्राप्त गर्ने  उनले बताए ।

उनका अनुसार गत वर्ष यात्रुको सुविधाका लागि आन्तरिक टर्मिनल अन्तर्गत आगमन कक्षलाई आधुनिक, फराकिलो र सुविधा सम्पन्न बनाइएको थियो । यसपाली ब्यागेज हयाण्डिलिङ सिष्टम जडान गरिएको हो । ‘अब छिट्टै आगमन कक्षलाई वातानुकुलित तुल्याइने छ,’ उनले भने, ‘केही समयभित्रै एसी जडानको काम सुरु हुनेछ ।’

विमानस्थलका अनुसार १ लाख २० हजार ७ सय ९३ अमेरिकी डलर खर्च गरेर यो प्रविधि जडान गरिएको हो । अन्तराष्ट्रिय बोलपत्र आव्हान गरेर यसको ठेक्का लगाइएको थियो । भैरहवा बाहेक मुलुकका धनगढी, नेपालगन्ज, जनकपुर र विराटनगर विमानस्थलमा यस्तो प्रविधि जडान गरिएको छ । यसले आगमन कक्ष व्यवस्थित हुनुका साथैं यात्रुलाई सुविधा पुग्ने गरेको निमित्त महाप्रवन्धक साहले जानकारी दिए ।