August 14, 2026, Friday
२०८३ श्रावण २९ शुक्रबार

खेलकुदको विकासमा सरकारले ध्यान दिन्छः सांसद अग्रवाल

Advertisement

भैरहवा– प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले खेल क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताएकी छन् । उनले जनप्रतिनिधिका हिसाबले आफूले पनि क्रिकेट लगायत सबै खेलकुदको विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

Advertisement

रुपन्देही क्रिकेट संघको आयोजनामा मंगलबरादेखि सुरु रुपन्देही सुपर लिग प्रतियोगिताको उद्घाटन गर्दै अग्रवालले विगत १४ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रंगशालाको काम अझै सम्पन्न हुन नसक्नु दुःखद् भएको उल्लेख गरिन् ।

उनले सिद्धार्थ रंगशालाको निर्माण कार्य निकै कम प्रतिशतमा मात्र सीमित रहेको र अघिल्ला सरकारहरूको कमजोरीका कारण काम अघि बढ्न नसकेको बताइन् । वर्तमान सरकार यस विषयमा सचेत रहेको उल्लेख गर्दै उनले अब नागरिकले प्रत्यक्ष रूपमा विकासको अनुभूति गर्ने गरी काम अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरिन् ।

खेलले खेलाडीलाई मात्रै नभई राष्ट्रलाई चिनाउने जनाउँदै उनले सबै खेलकुद क्षेत्रको विकास जरुरी रहेको बताइन् । रुपन्देहीमा खेल पूर्वाधार विकासमा आफ्नो पहल हुने उनको भनाई छ ।

रास्वपा सांसद अग्रवालले अर्थमन्त्रीसँग सिद्धार्थ रंगशालाको निर्माण किन रोकियो र रोकिएको कामलाई कसरी संचालन गर्न सकिन्छ ? भन्नेबारे कुराकानी गर्ने जनाइन् । उनले यसको पहल आफूबाटै सुरुवात गर्ने बताइन् । रुपन्देही–३ का तीन जना सांसद मिलेर रंगशाला लगायत अन्य विषयमा रहेका विकासका योजना तिव्र गतिमा अगाडि बढाउने पहल गर्ने उनले प्रतिबद्धता जनाइन् ।

‘स्थानीय नागरिकले चाँडै नै विकासको अनुभूति महसुस गर्नुहुनेछ’, उनले भनिन् । समारोहमा अग्रवालले ब्याटिङ गरेर खेलको उद्घाटन गरेकी थिइन् ।