August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

गुल्मी अस्पतलमा पहिलो पटक स्तन क्यान्सरको सफल शल्यक्रिया

Advertisement

गुल्मी–महिनामा एक दिन क्यान्सर रोगको परीक्षण गर्ने गरिएको गुल्मी अस्पतालमा स्तन क्यान्सरबाट पीडित एक बृद्ध महिलाको सफल शल्यक्रिया गरिएको छ ।

Advertisement

गुल्मी अस्पतालमा स्तन क्यान्सरको शल्यक्रिया गरिएको यो पहिलो पटक हो । यस खालको शल्यक्रिया गुल्मी जिल्लामैं पहिलो पटक भएकाले शल्यक्रियामा खटिएका चिकित्सकीय टोली र पहिलो सेवाग्राही तथा बिरामीलाई अभिनन्दन समेत गरिएको छ ।

गुल्मी अस्पताल प्रशासनका अनुसार, रेसुङ्गा नगरपालिका–८ की ७२ वर्षीया वृद्धाको स्तन क्यान्सरको शल्यक्रिया गरिएको हो । उनी आर्थिक बिपन्न बुद्ध महिला समेत हुन् । उपचारका क्रममा केही दिन अघि गुल्मी अस्पतालमा आएकी ती वृद्धाको क्यान्सरको शंका लागेपछि बुटवल पठाइएको थियो ।

बायोप्सी परीक्षणबाट उनीमा क्यान्सर भएको प्रमाणित भएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्तन तथा क्यान्सर रोग शल्य चिकित्सक विशेषज्ञ सन्जय पाण्डे नेतृत्वको चिकित्सकको टोलीले उनको शल्यक्रिया गरेको थियो । शल्यक्रिया गरिएकी ती बृद्धाको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

क्यान्सर रोगको समयमैं पहिचान भइ उपचार गर्न सकेमा पूर्ण रुपमा निको हुने र उपचार खर्चपनि कम लाग्ने चिकित्सक पाण्डेले बताए । ‘क्यान्सर लागेपछि सञ्चो नै हुँदैन भन्ने भ्रम समाजमा चिर्न जरुरी छ’ चिकित्सक पाण्डे भन्छन्, ‘त्यसैले वेला वेलामा क्यान्सर रोगको परीक्षण गराएर सावधानी अपनाउन जरुरी छ ।’

उक्त शल्यक्रियाको सवै खर्च गुल्मी अस्पतालले नै बेहोरेको थियो । यो सफल शल्यक्रियाले समयमैं उपचार गराएमा स्तन क्यान्सरको शल्यक्रिया सहितको उपचार गुल्मी अस्पतालमापनि सम्भव रहेको सन्देश दिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताए ।