काँग्रेस लुम्बिनीमा अन्तर्घात गर्नेलाई डण्डा चलाउने तयारी, कारबाही सिफारिसको चाङ


भैरहवा– नेपाली काँग्रेसमा गत २१ फागुनमा सम्पन्न निर्वाचनलाई लिएर कारबाहीको डण्डा चलाउने प्रक्रिया सुरु भएको छ । पार्टीका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै विभिन्न समितिले स्थानीयदेखि जिल्लास्तरका नेता–कार्यकर्तामाथि कारबाही सिफारिस गरेका छन् ।
हुनतः काँग्रेसमा अन्तर्घातको आरोपमा नेता–कार्यकर्तामाथि कारबाही प्रक्रिया अघि बढाइएको यो नयाँ होइन् । तर, यसपटकको निर्वाचनमा काँग्रेसको केन्द्रको विवादले क्षेत्र तहमा नराम्रो प्रभाव पार्यो । त्यही कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट एक सय बढी नेता–कार्यकर्तालाई कारबाही सिफारिस गरिएको छट ।
अन्तर्घात भएको भन्दै प्रदेश र केन्द्रमा कारबाहीका लागि स्थानीय कार्यकर्तादेखि प्रदेशस्तरीय र पूर्वकेन्द्रीय सदस्यहरु समेतको नाम पठाइएको छ । नवलपरासी कांग्रेस जिल्ला कार्यसमितिले क्षेत्र नम्बर १ र २ का आफ्ना उम्मेदवारलाई सहयोग नगरी अन्यलाई सघाएको आरोप लगाउँदै निवर्तमान केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, महासमिति सदस्य गुणनिधि तिवारी, क्षेत्रीय सभापति माधवप्रसाद पाण्डेय, प्रदेश वनमन्त्रीसमेत रहेका देवकरणप्रसाद कलवार, जिल्ला सदस्य सञ्जयमणि त्रिपाठीसहित ४३ जनालाई कारबाहीको सिफारिस गरेको थियो ।
पाल्पा जिल्लाका क्षेत्र नम्बर २ का उम्मेदवार हिमालदत्त श्रेष्ठलाई निर्वाचनमा पराजित गर्ने गतिविधि गरेको आरोप लगाउँदै पार्टीको तानसेन नगरपालिका सचिव शैलेन्द्र भट्टराईलाई साधारण सदस्यसमेत नरहने गरी ५ वर्षको लागि निष्कासन गर्ने सिफारिस गरेको पत्र अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।
केही दिन अगाडि बाँके जिल्लाको क्षेत्र नम्बर ३ मा महासमिति सदस्य लक्ष्मीनारायण शाह र प्रदेश महासमिति प्रतिनिधि राजु यादवलाई कारबाहीको सिफारिस भएको थियो ।
अहिले अन्य जिल्लामा प्रदेश मन्त्रीदेखि पार्टीका उच्च नेताहरुलाई कारबाही सिफारिस आउने क्रम जारी छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष एवं पार्टीले गठन गरेको निर्वाचन अनुशासन समितिका संयोजक प्रकाश रानाले अहिले प्रायः जिल्लाहरूबाट कारबाहीको सिफारिस आउने क्रम जारी भइरहेको जनाए । उनका अनुसार करिब १ सयभन्दा माथि यस्ता सिफारिस आएका छन् ।
उनका अनुसार सबैभन्दा धेरै नवलपरासी र कपिलवस्तु जिल्लामा कारबाहीका लागि सिफारिस आएका छन् । अन्य जिल्लाहरू र विभिन्न क्षेत्रहरूबाट पनि सिफारिस आएका छन् । रुपन्देहीको क्षेत्र नम्बर ३ र ४ बाट कारबाहीका लागि सिफारिस आएको छ । अहिले जिल्लाबाट आउने कारबाहीका लागि सिफारिसका विषयमा अब केही दिनमा समितिको बैठक बस्ने र त्यससम्बन्धी छलफल गर्ने रानाले बताए ।
लुम्बिनी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनपछि नेपाली कांग्रेसभित्र आफ्नै उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा कारबाहीलाई तीव्रता दिइएको छ । पार्टीका विभिन्न जिल्लाबाट केन्द्रीय कार्यालयमा पुगेका निवेदनहरूमा कतिपय नेता तथा कार्यकर्ताले आधिकारिक उम्मेदवारलाई असहयोग गरेको, स्वतन्त्र वा विपक्षी उम्मेदवारलाई सहयोग गरेको उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसभित्र एक समूहले असहयोग गर्ने र अर्कोले कारबाही गर्ने अवस्था सिर्जना भएको नेताहरु बताउँछन् । प्रदेशमा आएका सिफारिसबारे पार्टीले अध्ययन गरिरहेको जनाइएको छ ।








प्रतिकृया दिनुहोस्