प्रथम बटौली कपः खुकुरी र होराइजन सेमिफाइनलमा


भैरहवा– लुम्बिनी खुकुरी क्रिकेट क्लब र न्यु होराइजन क्रिकेट क्लब प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएका दुई खेलमा खुकुरीले स्टार क्रिकेट एकेडेमीलाई ६ विकेट र होराइजनले प्रोफेसनल मास्टर्स–११ लाई ४६ रनले हराउँदै सेमिफाइनल यात्रा तय गरेका हुन् । प्रतियोगितामा यसअघि बुटवल गोलपार्क क्रिकेट क्लब र एमएसएमटी क्रिकेट एकेडेमी नौतनवा सेमिफाइनल पुगिसकेका छन् ।
पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको स्टारले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर जम्मा ९० रन बनायो । उसका लागि समिप पौडेलले २९, रन्जित मौर्यले १५ र कृष्ण विकले १२ रन बनाए । बलिङमा खुकुरीका पिन्टु साहनी र जितेन्द्र केवटले २–२ तथा अख्तर हुसेन र सन्देश जिसीले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरीले १२ ओभर २ बलमा ४ विकेट गुमाएर ९१ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा रोशन गौतमले अविजित २६, समिर अली मुसलमानले २४, निश्चल चौधरीले २३ र साजाद आलमले नटआउट ११ रन बनाए । बलिङमा स्टारका कृष्ण भारतीले २ तथा प्रेमसागर यादवले १ विकेट लिए । खेलमा जितेन्द्र केवट प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले १९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ३९ रन बनायो । उसका लागि तुलाराम थापाले २८, अमर मिश्राले २३, अनिश भट्टराईले २१, प्रिन्स पालले १४ र निश्चल ज्ञवालीले १३ रन बनाए । बलिङमा मास्टर्सका सोइब हसन मुसलमान र अब्दुल खानले ३–३ तथा निरज मौर्यले २ तथा करण यादव र आरिफ अहमदले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको मास्टर्स–११ ले ९ विकेट गुमाएर ९३ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि अजय रसाइलीले २९, आरिफ अहमद र सोइब हसन मुसलमानले समान १२–१२ रन बनाए । बलिङमा न्यु होराइजनका सुरज खड्काले ३, तुलाराम थापाले २ तथा महेश भर, प्रिन्स पाल र प्रेम गुप्ताले १–१ विकेट लिए । खेलमा तुलाराम थापा प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।
चैत्र १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेताले नगद २५ हजारसहित मेडल, म्यान अफ द सिरिजले ट्रफी र १० हजार, बेष्ट बलर र ब्याटरले ट्रफी र जनही ५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।








प्रतिकृया दिनुहोस्