सिमानामा कडाइ गर्न बाँकेका कुखुरा व्यवसायीको माग


नेपालगन्ज–सिमावर्ती भारत र नेपालका विभिन्न ठाँउमा बर्डफ्लुको संक्रमण देखिन थालेपछि बाँके जिल्लाका कुखुरा व्यवसायी र सरोकारवाला निकायले सिमा नाकाहरूमा कडाइ गरिनु पर्ने धारणा माग गरेका छन् ।
भारतबाट भित्रिने अवैध कुखुरा र चल्लाका कारण बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा रहेको छ । सिमावर्ती भारत उत्तरप्रदेशका विभिन्न ठाउँ र नेपालका समेत केही ठाउँमा बर्डफ्लु देखिएपछि बर्डफ्लुको सन्त्रास बाँकेमा बढेको हो ।
जमुनाहा लगायतका नाका भएर भारतबाट भित्रिने अवैध कुखुरा र चल्लाका कारण बाँकेमा बर्डफ्लु फैलिने सम्भावना अत्याधिक रहेकाले सङ्क्रमणको उच्च जोखिममा परेको हो । सिमावर्ती नाकाहरुबाट भारतीय कुखुरा चल्लाहरु अहिलेपनि धमाधम नेपाल भित्रिरहेको स्थानीय सरोकारवालाहरु बताउँछन् ।
भारतबाट लुकिछिपी हुँदै आएको पन्छिजन्य पदार्थको अवैध कारोवार तथा आयातले गर्दा बाँकेमा जोखिम भएको भन्दै बाँके जिल्लासँग जोडिएका सम्पूर्ण नाकामा कडाइ गर्न उनीहरुले माग गरेका छन् ।
सीमानामा यस्तै छुट रहने हो भने बर्डफ्लु भित्रिन सक्ने र त्यसबाट एकातिर मानवजीवन सङ्कटमा पर्ने र अर्कोतिर आफ्नो व्यवसाय सखाप हुने चिन्ता उनीहरुको छ ।
बाँकेका कुखुरा व्यवसायी मुख्तार राईले बर्डफ्लु भित्रिन नदिन भारतबाट आउने कुखुरालाई रोक्न आवश्यक तथा अपरिहार्य भैसकेको बताउँछन् । ‘यदि बर्डफ्लु भित्रियो भने मानव जीवनलाई समस्या पर्नुका साथै करोडौंको लगानीमा सञ्चालनमा रहेका नेपाली कुखुरा पालन व्यवसाय धाराशायी हुने संभावना बढ्दो छ’ मुख्तार भन्छन् ।
अर्का कुखुरापालक व्यवसायी कादरी पोल्ट्री फार्मका सञ्चालक मुनिजर खानले बर्डफ्लु भित्रिनबाट रोक्ने हो भने भारतबाट हुँदै आएको कुखुराको अवैध आयातलाई रोक्नै पर्ने अवस्था रहेको बताउँछन् ।
सिमा नाकाहरुमा नाकामा कडाइ गरिएन र सचेतना अपनाइएन भने बर्डफ्लु भित्रिन बेर नलाग्ने भनाइ नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठको छ । भारतका धेरै ठाउमा बर्डफ्लु देखिएको र नेपालकै केही स्थानमा समेत बर्डफ्लु देखिएकोले बाँकेमापनि फैलिन सक्ने हुँदा सम्बन्धित निकायले विशेष ध्यान दिनु आवश्यक रहेको उनी बताउँछन् ।
स्थानीय प्रहरी प्रशासनले भने नाकामा कडाइ गरिएको दाबी गर्ने गरेको छ । दिनरात खटिएर सुरक्षाकर्मीले कुखुरा लगायत सबै अवैध आयातलाई रोक्ने काम गरिरहेको भनाइ स्थानीय प्रहरी प्रशासनको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले मुख्य नाकामा रहेका सुरक्षाकर्मी र क्वारेन्टाइनलाई कुखुरा र गुणस्तरहीन माछाको आयात रोक्न कडा निर्देशन दिइएको बताए ।








प्रतिकृया दिनुहोस्