August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

समाजको रुपरेखा फेर्न शिक्षकको भूमिका महत्वपूर्ण : सामाजिक विकास मन्त्री तिमिल्सिना

Advertisement

भैरहवा–लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मुलुकमा पटकपटक राजनीतिक अनुहार फेरिएपनि समाजको रुपरेखा बदल्न शिक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

Advertisement

भैरहवामा सोमबार रुपन्देही र पश्चिम नवलपरासीका माध्यामिक शिक्षकलाई सम्बोधन गर्दै उनले मुलुकमा धेरै परिवर्तन भएपनि समाजमा त्यसको असर पर्न नसकेको बताए । त्यसैले मुलुकमा भएका राम्रा अभ्यासबारे समाजलाई जानकारी गराउने जिम्मेवारी शिक्षकको भएको उनको भनाई छ । ‘मुलुकलाई समृद्धिमा पुग्न समय लाग्दैंन,’उनले भने, ‘त्यसका लागि सकारात्मक थालनी हुनुप¥यो । राम्रा कामबारे समाजलाई जानकारी दिनु प¥यो । आवश्यक सुधार पनि गर्नु प¥यो ।’

त्यसैले प्रदेशमा रहेका सबैं शिक्षकको शैक्षिक सुधारका लागि समान जिम्मेवारी रहेको उनले बताए । ‘विद्यालय व्यवस्थापन अध्यक्ष चयनका लागि झगडा जरुरी छैन,’उनले भने, ‘शिक्षाका कर्मचारीबीच बेमेल पनि आवश्यक होइन् ।’ विश्व कृत्रिम बुद्धिमता (एआई) तर्फ तिव्र अग्रसर भएकाले त्यस अनुसारको शिक्षा शैली विकास गर्न जरुरी रहेको उनले बताए । त्यसका लागि सम्पूर्ण शिक्षक तथा कर्मचारीको सर्मपण आवश्यक रहेकोमा उनले जोड दिए । समाजमा नाकारात्मक गतिविधिको प्रशंसा गरिने प्रवृत्ति हावी भएकाले सकारात्मक पक्ष ओझेलमा परेको उनको भनाई थियो ।

प्रदेश अन्तगर्त सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीले शैक्षिक प्रणालीमा एकरुपता ल्याउन र सुधारका लागि प्रदेशमा रहेका चारवटा शिक्षा डिभिजन अन्तर्गत शिक्षकसित यस्ता छलफल कार्यक्रम आयोजना गरिएको जनाए । पहिलो नेपालगन्ज, दोस्रो पाल्पा, तेस्रो कपिलवस्तु र चौथो कार्यक्रम रुपन्देहीमा आयोजना गरिएको जानकारी गराए । रुपन्देही शिक्षाको हब भएकाले प्रत्येक पालिकाबाट दुई जना शिक्षक सहभागी गराएर छलफल आयोजना गरिएको बताए ।

शिक्षा निर्देशनालयका निमित्त महानिर्देशक हरिलाल अर्यालले सबै विद्यालयमा एउटैं र व्यवहारिक पाठ्यक्रम निर्माणका लागि कार्यक्रम गरिएको बताए । यस्ता छलफलबाट प्राविधिक शिक्षाबाट साधरण र साधरणबाट प्राविधिक शिक्षातिर जान सक्ने गरि पाठयक्रम तयार गरिने उनले बताए । शिक्षा विकास तथा समन्वय एकाई प्रमुख विष्णु पन्थीले राष्ट्रिय पाठ्यक्रम कार्यान्वयनमा आइपरेका अप्ठयारा सुधारका लागि छलफलले भूमिका खेल्ने बताए । ‘शिक्षा पद्दतिमा आमूल परिवर्तन लक्ष्य हो,’उनले भने, ‘कार्यान्वयन स्थल विद्यालय रहेकाले छलफल महत्वपूर्ण छ ।’

सामाजिक विकास मन्त्रालय योजना महाशाखा प्रमुख ऋषिराम शर्मा अहिले अध्यापन भइरहेका पाठ्यक्रममा देखिएका चुनौंतीबारे छलफल गरेर समाधानका विषय तय गरिने बताए । नीति बनेपनि व्यवहारमा शिक्षा शिक्षकले शैक्षिक सुधार गर्ने भएकाले सम्बन्धित व्यक्तिलाई सहभागी गराएर छलफल गरिएको बताए । एक दिने कार्यक्रममा रुपन्देही र पश्चिम नवलपरासीस्थित माध्यामिक विद्यालयका चार दर्जनभन्दा बढी शिक्षक सहभागी छन् ।