कपिलवस्तुमा क्षेत्र थपेर निषेधाज्ञा कायमै, सर्वपक्षीय बैठकले कस्तो निर्णय गर्यो ?


कपिलवस्तु– हिन्दु र मुस्लिम समुदायबीचको विवादपछि कपिलवस्तुमा लगाइएको निषेधाज्ञालाई निरन्तरता दिइएको छ । शनिवारदेखि लगाइएको निषेधाज्ञा अहिले पनि जारी छ । शनिवार जिल्लाको महाराजगंज नगरपालिका वडा नं. २, वर्गदामा भएको घटनालाई लिएर उत्पन्न भएको विवादपछि निषेधाज्ञा लगाइएको थियो ।
महाराजगन्ज क्षेत्रमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनावपछि अवस्था नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको हो । सबै धर्म, संस्कृति र जातजाती मिलेर बसेको समाजमा कतिपय उच्छृङ्खल एवं अराजक तत्वहरुले धार्मिक एवं सामाजिक सद्भाव भड्काउने उद्देश्यले क्रियाकलाप गरेकोले स्थानीय प्रशासनले नियन्त्रणको प्रयास गरिरहेको हो ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार महाराजगञ्ज नगरपालिकाको वडा नम्बर २ र ३ को सीमाक्षेत्रमा ईद र नवरात्र पर्व मनाउने क्रममा उत्पन्न भएको विवाद चर्किँदै गएपछि दुइ समूहबिच झडप भएको थियो । झडपमा प्रदर्शनकारी र सुरक्षाकर्मी गरि करिब २० जना घाइते भएका थिए । ति मध्ये ३ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य छ ।
प्रहरी प्रशासनले ७ राउन्ड अश्रुग्याँस प्रहार गरि घटनालाई नियन्त्रणमा लिएर थप घटना हुन नदिन निषेधाज्ञा लगाएको थियो । उक्त घटनामा संलग्न केहिलाई प्रहरीले पक्राउ गरिसकेको र अन्यको खोजी कार्य जारी रहेको जनाएको छ ।
घटनाको सम्बन्धमा आइतबार बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार अर्को निर्णय नहुँदासम्म निषेधाज्ञा जारी राखिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । प्रमुख जिल्ला अधिकारी गौतमले घटनामा परी घाइते भएका सबै नागरिकको उपचार भइरहेको र बाहिर प्रचारमा आए जस्तो कसैको निधन भने नभएको स्पष्ट पारे ।
जिल्ला प्रशासनले जिल्लामा शान्ति सुरक्षा र सद्भाव कायम राख्न प्रशासन पूर्ण रुपमा प्रतिवद्ध रहेको व्यहोरा जानकारी गराउँदै जिल्लाका सबै राजनैतिक दल, जन प्रतिनिधि, नागरिक समाज, संघसंस्था, संचार क्षेत्र लगायत सबै पक्षलाई शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा जिम्मेवार भूमिका निर्वाह गर्नुहुन र अनावश्यक भिडभाड नगरी सहयोग गर्न समेत अपिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको सूचनाअनुसार महाराजगञ्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइनेछैन ।
उक्त घटनापछि कपिलवस्तुमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । निषेधाज्ञा जारीपछि बहादुरगन्ज, महाराजगन्ज क्षेत्रको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो १ बजेबाट पूर्वमा लबनी चोकदेखि पश्चिममा बर्गदीघाट पुलसम्म र दक्षिणमा धर्मभक्त मावि बभनीदेखि उत्तरमा पचेहरा चोकसम्म निषेधाज्ञा जारी गरिएको छ । अहिले निषेधाज्ञा जारी गरिएको क्षेत्रमा कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोदन गाउँपालिका रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी गौतमले स्थानीय प्रशासन २०२८ को दफा ६ को ३ क बमोजिम निषेधाज्ञा जारी गरेका हुन् । आदेश उल्लघंन गर्नेलाई कानुनअनुसार नियन्त्रणमा लिई कारबाही गरिने प्रजिअ गौतमले बताए । अर्को आदेश नभएसम्म भेला, सभा, जुलुस र प्रर्दशन गर्न पाइँदैन ।
यसअघि शनिबार दिउँसो २ बजेदेखि अर्का आदेश नभएसम्म महराजगन्ज नगरपालिकाको पूर्व बर्गदी पुल, पश्चिम बहादुरगन्ज चोक, उत्तर महाराजगन्ज बजार र दक्षिण हर्दौनासम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको थियो । यो आदेश पनि यथावत् छ ।









प्रतिकृया दिनुहोस्