August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

निर्माण व्यावसायीको नेतृत्व हुँदै मञ्जुको संसदीय यात्रा

Advertisement

भैरहवा– जिल्लामा निर्माण व्यावसायीको नेतृत्व गरिरहेकी रुपन्देहीकी ५० वर्षीय मन्जु ज्ञवाली भुसालले संसदीय यात्रा तय गरेकी छन् । बुटवल–११ की भुसाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक तर्फ निर्वाचित भएर प्रतिनिधिसभा सदस्य बनेकी हुन् । पारिवारिक रुपमा प्राप्त राजीतिक ज्ञानले उनलाई राजनीतिमा आकर्षित गरेको हो ।

Advertisement

उनका बुवा मेघनाथ ज्ञवाली २०४६ अघि उपप्रधानपञ्च र बहुदल आएपछि अर्घाखाँचीको चिदिका गाविस उपाध्यक्ष भएका थिए । उनका हजुरबुवा र आमा पनि पञ्चायतकालमा तत्कालीन राजनीतिमा आवद्ध थिए । आफ्ना पिता पुर्खाको प्रेरणाले आफू राजनीतिमा जोडिएको मञ्जुले बताइन् । मुलुकमा बहुदल आएपछि २०५१ सालमा नेविसंघको सदस्यता लिएकी थिइन् । उनी तरुण दल, कांग्रेस गाउँ समिति सचिव हुँदै २०५९–२०६० सालमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी थिइन् ।

२०७४ मा माओवादी र एमालेको एकतापछि उनी नेकपाबाट एमाले बनिन् । २०८२ भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि एमाले छाडेकी उनी दुई महिनाअघि रास्वपा प्रवेश गरेर समानुपातिक सांसदको अवसर पाएकी हुन् । सामाजिक अभियन्ता हुनुका साथैं दर्जनौं सघंसंस्थाको नेतृत्वदायी भूमिकामा पनि जोडिएकी छन् ।

मुलुकका ७७ जिल्ला मध्ये रुपन्देहीको निर्माण व्यवसायी संघको जिल्ला अध्यक्ष बन्ने उनी मात्र एक्लि महिला हुन् । निर्माण व्यवसायी महासंघको पूर्वकेन्द्रीय सदस्य, लुम्बिनी प्रदेश पूर्वउपाध्यक्ष पनि हुन् । जेसिज २०१६ को महिला अध्यक्ष, २०१७ को राष्ट्रिय कोओर्डिनेटरदेखि घरेलु तथा साना उद्योग महासंघकी महिला जिल्ला सभापति, चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश सदस्य र पश्चिम नेपाल ट्रक व्यवसायी समिति पूर्व सल्लाहकार समेत भएकी मञ्जुले १२ कक्षासम्मको अध्ययन गरेकी छन् ।

श्रीमान् नारायणप्रसाद भुसालको साथ, सहयोगले राजनीतिक नेतृत्वको नीति निर्माण तहमा पुग्न सफल भएको बताउने भुसालले प्रतिनिधिसभामा सुकुम्बासी समस्या समाधानका लागि प्राथमिकताका साथ ध्यान दिने, जेनजीका सपना पूरा गर्ने, रूपन्देही, गुल्मी र अर्घाखाँचीका निर्माण क्षेत्रका समस्या, विकासका पूर्वाधार, रोजगारी स्थापना, उद्योग क्षेत्रको विकासका लागि काम गर्ने संकल्प गरेकी छन् ।