August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

चौथो लुम्बिनी पिस म्याराथनको उपाधि आर्मीका रोकायलाई

Advertisement

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित चौथो अन्तर्राष्ट्रिय लुम्बिनी पिस म्याराथन त्रिभुवन आर्मी क्लबका विनोद रोकायाले जितेका छन् । नेपाल ओलम्पिक कमिटीको अगुवाइमा शनिबार लुम्बिनीमा आयोजित म्याराथन रोकायाले निर्धारित ४२ दशमलव १९५ किलोमिटर दूरी २ घण्टा १७ मिनेट ५५ सेकेन्डमा पार गर्दै प्रथम बनेका हुन् ।

Advertisement

प्रथम भएका रोकायाले ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार र स्वर्ण पदक प्राप्त गरे । यस्तै, आर्मी क्लबकै सुशीलकुमार शाहीले दोस्रो स्थान हासिल गरे । उनले निर्धारित दूरी २ घण्टा १८ मिनट १६ सेकेण्डमा पार गर्दै २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । आर्मी क्लबकै नरेन्द्रसिंह रावतले निर्धारित दूरी २ घण्टा १९ मिनट ५८ सेकेण्डमा पार गरी तेस्रो हुन सफल भए । उनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै, महिलातर्फको २१ किलोमिटरको हाफ म्याराथन पनि आर्मी क्लबकै खेलाडीको वर्चस्व रह्यो । २१ किलोमिटर दूरीको हाफ म्याराथनतर्फ त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भइन् । उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । यसअघि विभिन्न स्पर्धा जित्दै आएकी धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो स्थान हासिल गरिन् । उनले १ लाख रुपैयाँ प्राप्त गरिन् । आर्मीकी निशा सार्की तेस्रो हुँदै ८० हजार रुपैयाँ प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले बताए ।

ओलम्पिक कमिटीको समन्वयमा भएको लुम्बिनी म्याराथनको आयोजकमा नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड थिए् । म्याराथनमा नेपालसहित भारत, अमेरिका, नाइजेरिया लगायत देशबाट ६ सय बढी धावक सहभागी थिए । लुम्बिनी स्क्वायरबाट सुरु भएको ४२ दशमलब १९५ किलोमिटरको दौड गौतमबुद्ध विमानस्थल अगाडिसम्म आएर पुनः लुम्बिनीमै पुगेर समापन भएको थियो ।

शान्ति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पुरुष म्याराथन, महिला हाफ म्याराथन, खुला ५ किमि दौड र वाकथन समावेश गरिएको थियो । प्रतियोगिताका विजेताहरूलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले पुरस्कार वितरण गरेका थिए ।