August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति सम्मेलन सुरु

Advertisement

भैरहवा–बुद्ध जन्मस्थल लुम्बिनीमा शुक्रबारबाट तेस्रो अन्तर्राष्ट्रिय शान्ति सम्मेलन सुरू भएको छ । तेस्रो अन्तर्राष्ट्रिय ध्यान दिवसका अवसरमा नेपालस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र नेपाल ओलम्पिक कमिटीले संयुक्त रुपमा विशेष कार्यक्रम गरिरहेका छन् ।

Advertisement

शुक्रबार बिहान मायादेवी मन्दिरमा आयोजित ध्यान कार्यक्रममा बोल्दै संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले विश्वमा शान्ति कायम हुन जरुरी रहेको बताए । ‘विश्व सम्पदा सूचीमा अंकित यस साइटले अशोक स्तम्भको माध्यमबाट विश्वभर बौद्ध धर्म र शान्तिको सन्देश फैलाउने कार्य जारी राखेको छ,’ मन्त्री सिन्हाले भने, ’अशान्तिले भरिएको संसारमा भगवान बुद्धको करुणा र अहिंसाको सन्देशले शान्ति प्रदान गर्न सक्दछ ।’

लुम्बिनी केवल एक धर्मको केन्द्रस्थल मात्र नभई मानव सभ्यताको यात्रामा अपरिहार्य शान्तिको प्रतीक बनेको उनले बताए । यस पटकको लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवले ध्यान, संगीत कार्यक्रम, म्याराथन जस्ता विविध माध्यममार्फत, शान्तिप्रेमी विश्वका सबै जनतालाई शान्ति, विकास, समानता, न्याय, लोकतन्त्र र स्वतन्त्रता जस्ता साझा मान्यतामा एकत्रित गर्ने उनले बताए ।

नेपालस्थित चिनिया राजदुत चाङ माओमिङले अन्तर्राष्ट्रिय अवस्था झन् जटिल र अस्थिर बन्दै गएको र विभिन्न क्षेत्रमा द्वन्द्व तथा युद्धका घटनाहरू दोहोरिरहेको बताए । ‘आजको विश्व परिवेशलाइ हेर्दा, धेरै दुर्लभ परिवर्तन तीव्र रूपमा अगाडि बढिरहेका छन्, यस्तो अवस्थामा शान्ति कुनै सैद्धान्तिक कुरा नभई हरेक परिवारको सबैभन्दा आधारभूत चाहना बनेको छ,’ राजदुत माओमिङले भने ।

शान्तिपूर्ण विकासलाई आफ्नो राष्ट्रिय मार्गदर्शनका रूपमा अघि बढाउँदै आएको चीनले विश्वका सबै शान्तिप्रेमी राष्ट्रहरूसँग हातेमालो गर्दै अघि बढ्न प्रतिबद्ध रहेको उनले बताए । विकास, सुरक्षा, सभ्यता र सुशासनका क्षेत्रमा सहकार्यलाई प्रवर्दधन गर्दै, चीनले शान्ति, विकास, समानता, न्याय, लोकतन्त्र र स्वतन्त्रता जस्ता साझा मानव मूल्यहरूको संरक्षण र प्रवद्धनमा जोड दिइरहेको उनले बताए ।

मानवजातिको साझा भविष्य निर्माण गर्ने लक्ष्यका साथ, विश्व शान्ति कायम राख र साझा समृद्धि हासिल गर्न चीनले आफ्नो अनुभव, दृष्टिकोण र समाधानमार्फत सकारात्मक योगदान दिँदै आएको उनले बताए । चीन र नेपाल भौगोलिक रूपमा नजिक रहेका, हिमाल र नदीले जोडिएका असल छिमेकी राष्ट्र मात्र नभइ सांस्कृतिक रूपमा पनि गहिरो सम्बन्धले गाँसिएका मित्र राष्ट्र भएको बताए ।