अनुसन्धान, व्यवहारिकता र प्रविधिमा बुटवल पब्लिक स्कुलको जोड


बुटवल– बुटवल पब्लिक स्कुलले आगामी शैक्षिक सत्र २०८३ को कार्ययोजना सार्वजनिक गरेको छ । तिलोत्तमामा एक कार्यक्रमको आयोजना गरी शिक्षक र अभिभावक सामु विद्यालयले आउँदो शैक्षिक सत्रमा अवलम्बन गर्ने शिक्षण–सिकाइ क्रियाकलापबारे विस्तृत योजना प्रस्तुत गरेको हो । उक्त कार्यक्रमको तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै आचार्यले बुटवल पब्लिक स्कुलले शिक्षण गतिविधिमा हासिल गरेको प्रगतिको प्रशंसा गर्दै नयाँ योजना विद्यार्थी केन्द्रित र समयसापेक्ष भएको बताए । विद्यालयका संस्थापक अध्यक्ष हेमलाल शर्माले प्रस्तुत गरिएको कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि अभिभावकको समेत महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।
विद्यालयले सार्वजनिक गरेको योजनाअनुसार आगामी सत्रमा ‘रिसर्च एन्ड रिपोर्ट–बेस्ड लर्निङ’लाई विशेष प्राथमिकता दिइएको संस्थापक अध्यक्ष शर्माको भनाई छ । यसअन्तर्गत विद्यार्थीलाई विभिन्न विषयमा अनुसन्धान गर्न प्रोत्साहित गरिनेछ र प्रत्येक सत्रमा परियोजना प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरिने उनले बताए । साथै, अध्ययनलाई व्यवहारिक बनाउने उद्देश्यले नियमित रूपमा शैक्षिक भ्रमण तथा फिल्ड भिजिटको आयोजना गरिनेछ, जहाँ विद्यार्थीले प्रत्यक्ष अवलोकन, तथ्यांक संकलन र त्यसको आधारमा प्रतिवेदन तयार गर्ने अवसर पाउनेछन् । यस प्रक्रियाले विद्यार्थीमा विश्लेषणात्मक क्षमता, व्यवहारिक बुझाइ र प्रभावकारी दस्तावेजीकरण सीप विकास हुने विद्यालयको विश्वास छ ।
त्यसैगरी विद्यालयका सहप्राचार्य रामचन्द्र पौडेलले ‘नयाँ शैक्षिक अभ्यासहरूको सुदृढीकरण’ अन्तर्गत गतिविधिमा आधारित शिक्षण, प्रयोगशाला केन्द्रित कक्षा, परियोजना आधारित अध्ययन, शैक्षिक भ्रमण, विद्यार्थी प्रस्तुतीकरण तथा अन्तर–हाउस शैक्षिक प्रतिस्पर्धाहरू सञ्चालन गरिने बताए । यी कार्यक्रमहरूले विद्यार्र्थीलाई कक्षाकोठाभित्र सीमित नराखी सिर्जनात्मक र सक्रिय सहभागितामा जोड दिने लक्ष्य राखिएको उनको भनाई छ ।
स्कुलकी निर्देशक मिरा शर्माका अनुसार विद्यालयले ‘स्ट्राटेजिक भिजन २०८३’ अन्तर्गत नतिजा सुधारका रणनीति, सुदृढ शैक्षिक अनुगमन, थप व्यवहारिक शिक्षण, प्रविधिको एकीकरण तथा प्रतिस्पर्धात्मक परीक्षाको तयारीलाई प्राथमिकतामा राखेको छ । साथै, अभिभावक–विद्यालय समन्वयलाई मजबुत बनाउने र हस्तलेखनलाई समेत विशेष महत्व दिँदै उत्कृष्टताको मापदण्ड तय गरिने योजना रहेको उनले बताइन् ।
यस नयाँ कार्ययोजनाले विद्यार्थीलाई गुणस्तरीय, व्यवहारिक र प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्ने विश्वास विद्यालयले लिइएको छ । कार्यक्रममा कक्षा नर्सरी देखि १० सम्मका शिक्षकहरुले शिक्षण सिकाई बारे प्रस्तुती दिएका थिए ।








प्रतिकृया दिनुहोस्