August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

लुम्बिनीमा नेपाली र तेस्रो मुलुकका पर्यटक बढ्दा भारतीय घटे

Advertisement

भैरहवा- बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउने तेस्रो मुलुक र नेपाली पर्यटक बढ्दा भारतीय पर्यटक आगमन भने घटेको छ । लुम्बिनी विकास कोषका अनुसार सन् २०२६ को जनवरी र फेब्रुअरी महिनामा लुम्बिनी भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटक बढेका हुन् । नेपालमा निर्वाचन भएका कारण स्वदेशी पर्यटक फेब्रुअरीमा केही कम आए पनि गत वर्षको दुई महिनाको तुलनामा बृद्धि भएको छ । यस्तै, सन् २०२५ को तुलामाना सन् २०२६ को दुई महिनामा भारतीय भने केही घटेका छन् । फेब्रुअरीमा भारतीयको तथ्यांक गत वर्ष हारहारी रहे पनि जनवरीमा भने केही हजारले घटेको छ ।

Advertisement

विकास कोषका सूचना अधिकारी हरिध्वज राईका अनुसार सन् २०२६ को जनवरी र फेब्रुअरीमा गरी कुल २ लाख ७८ हजार ६६३ पर्यटककले लुम्बिनी भ्रमण गरेका छन् । गत वर्ष यही अवधिमा २ लाख ५८ हजार ४४९ पर्यटकले लुम्बिनी घुमेका थिए ।

राईका अनुसार यो वर्षको दुई महिनामा तेस्रो मुलुकका ३१ हजार ५२६ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२५ को सोही अवधिमा २६ हजार ३३० पर्यटक आएका थिए । यो वर्ष भारतीय ४१ हजार ७४५ लुम्बिनी आउँदा गत वर्ष ४५ हजार ३४६ आएका थिए । नेपाली यो वर्ष दुई महिनामा २ लाख ६ हजार ३९२ लुम्बिनी आएका छन् । गत वर्ष यही अवधिमा १ लाख ८६ हजार ७७३ नेपाली पर्यटकले लुम्बिनी घुमेका थिए ।

कोषको तथ्यांक अनुसार यो वर्ष तेस्रो मुलुकबाट जनवरी महिनामा ६९ देश र फेब्रुअरीमा ६२ देशका पर्यटक लुम्बिनी आएका छन् । सूचना अधिकारी राईले नेपालमा चुनाव भएका कारण केही भारतीय र नेपाली पर्यटकको संख्यामा कमी आएको बताए । ‘विस्तारै पर्यटक आगमन राम्रो हुँदै गइराखेको छ’, उनले भने, ‘समग्रमा गतवर्ष भन्दा राम्रो आगमन छ । अब गर्मी याम सुरु भएकाले केही संख्या घट्न सक्छ । तर, वर्षको अन्त्यसम्म पर्यटक आगमन राम्रो हुन्छ भन्ने हाम्रो विश्लेषण छ ।’

उनले सडक संजाल राम्रो हुँदै गएको र निर्वाचन पछि मुलुकमा शान्ति र स्थिरता कायम भएकाले नेपालीसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक बृद्धि हुने अपेक्षा गरे । कोषका अनुसार चालु वर्ष २०२६ को दुई महिनामा सबैभन्दा बढी तेस्रो मुलुकबाट लुम्बिनी घुम्न आउने पर्यटकको संख्या म्यानमारको बढी छ ।

म्यानमारबाट दुई महिनामा ७ हजार ९९५ पर्यटक लुम्बिनी आएका छन् । यस्तै, श्रीलंकाबाट ७ हजार ५३, थाइल्याण्डबाट ५ हजार २६५, चीनबाट २ हजार ८११, दक्षिण कोरियाबाट १ हजार ८४८ र भुटानबाट १ हजार २८५ पर्यटक लुम्बिनी घुम्न आएका छन् । लुम्बिनीमा अब हुने धार्मिक तथा आध्यात्मिक कार्यक्रमले पनि पर्यटकको संख्या बढ्ने विश्वास गरिएको छ । तर, लुम्बिनी आउने पर्यटकको बसाईं अवधि लम्बिन नसक्दा पर्यटन व्यवसायीले भने खासै लाभ उठाउन नसकेको गुनासो गर्दै आएका छन् ।