अनुदानमा पाएको काँक्राको बीउमा ‘झेल’


पाल्पा– तिनाउ गाउँपालिकाले किसानलाई वितरण गरेको काँक्राको बीउ उपयोगी नहुँदा किसान मारमा परेका छन् । गाउँपालिकाले अनुदानमा वितरण गरेको बीउको भर परेका किसान अहिले समयमै उत्पादन लिन नसक्ने अवस्थामा पुगेका छन् ।
गाउँपालिकाले संघीय विशेष अनुदान अन्तर्गत १८ लाख ८१ हजारमा विभिन्न सामानसहित बीउबिजन सप्लाईका लागि टेण्डर गरेर काँक्राको बीउ पनि मागेको थियो । सोही टेण्डर गर्दासमेत ढिलाई भएको गाउँपालिकाका कृषि शाखा प्रमुख हेमन्त शर्माले बताए । उनका अनुसार पहिलो पटक नपरेको र दोस्रो पटक टेण्डर गर्दा दर्शन ग्रुप्स प्रालि नेपालगञ्ज–१८, बाँकेसँग सम्झौता भई तोकिएको स्पिेसिफिकेसन अनुसार बीउबिजन उपलब्ध गराएको थियो ।
किसानका अनुसार पालिकाले सप्लाई गर्दा पहिला ढिलाई गरेको र पुनः दुई पटक बीउ नउम्रिँदा थप मर्का परेको हो । ‘हामीले पहिलो पटक पाएको बीउ उम्रिएको भए पनि अहिले मर्कामा पर्ने थिएनौं,’ किसान गीता थापाले भनिन्, ‘बीउको फोटो हेर्दा धेरै राम्रो थियो । तर उम्रिनै सकेन । हामीलाई एक महिना ढिला भयो ।’
कृषि प्राविधिकका अनुसार भक्तपुर लोकल काक्रा अधिक गर्मी हुन थालेपछि फल लाग्ने कम हुन्छ । उच्च पहाडमा भने असारसम्म नै फल निकाल्न सकिन्छ । यहाँका किसानले वर्षायाममा धान लगाउने गर्छन् । अन्य मौसममा आलु, काक्रा, गोलभेंडा, घिरौला, फर्सी (जुकुने) बोडी, करेला, लगायतका तरकारी लगाउने गर्छन् ।
बुटवल बजारनजिक भएकाले यहाँ वर्षौंदेखि तरकारी खेती गर्दै आएका छन् । व्यवसायिक खेती गर्न थालेको भने १३ वर्ष भएको देवीस्थान कृषक समूहका अध्यक्ष सूर्यबहादुर बगालेले बताए । उनका अनुसार गाउँमा बोटेगाउँ कृषि सहकारीसमेत रहेको छ । अघिल्लो वर्ष काँक्राबाट मात्र एक करोड बढी गाउँमा आम्दानी भित्रिएको थियो । समूह, सहकारी गठन गरेर किसान एकजुट भएपछि कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना तरकारी जोनबाट सहयोग पाएको उनले बताए ।
यही समूहमा तीन वर्षअघि गाउँपालिकाले एकीकृत शत्रुजीव व्यवस्थापन (आईपिएम) कृषक पाठशाला संचालन गरेको अध्यक्ष बगालेले बताए । ‘यसपटक बीउ तथा अन्य सामान अनुदानमा पाउने अवसर जुटेको थियो,’ उनले भने, ‘तर बीउ सप्लाई राम्रो भएन । अन्य सामग्री पनि सोंचेजस्तो छैन ।’ स्प्रेयरहरुसमेत गुणस्तरीय नभएको किसानको गुनासो छ । जैविक मल भने प्रयोगशालामा पठाएकाले गुणस्तरहीन नभएको किसानले बताए ।
तिनाउ गाउँपालिका अन्तर्गत जनचेतना कृषक समूह सत्यवती, अपुने कृषि तथा पशुपन्छी फार्म सुकेताल, देवीस्थान कृषक समूह दोभान, बगाले कृषि तथा पशुपालन दोभान, रिङसिङ् लेक सामुदायिक विकास कृषि सहकारी कचल, कोलडाँडा महिला कृषि सहकारी, कचल कृषि सहकारी, तिनाउ साना कृषि सहकारीलगायतलाई बीउबिजन तथा कृषि सामग्री सहयोग गर्नेगरी टेण्डर भएको हो । गाउँपालिका कृषि शाखाका प्रमुख हेमन्त शर्माका अनुसार चालु आर्थिक वर्षमा तिनाउका विभिन्न वडामा १ करोड ६४ लाखको कार्यक्रम संघीय विशेष अनुदान अन्तर्गत खर्च गर्नुपर्ने छ ।
सप्लायर्सबाट उपलब्ध बीउको गुणस्तरबारे गुनासो आएपछि किसानले जानकारी गराएलगत्तैसम्बन्धित आपूर्तिकर्तालाई झिकाइ सम्बन्धित कृषक, कर्मचारीसमेत बसेर संयुक्त छलफल गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताए । उनका अनुसार तोकिएको मापदण्डअनुरूप कृषकलाई चित्त बुझ्ने गरी कृषि सामग्री उपलब्ध गराउन सम्बन्धित आपूर्तिकर्ताले प्रतिबद्धता व्यक्त गरेका छन् ।








प्रतिकृया दिनुहोस्