August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

रूपन्देहीमा रास्वपाबाट ६ जना र राप्रपाबाट ताहिर अली समानुपातिक सांसद

Advertisement

भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगमा समानुपातिक सांसदको सूचि बुझाएका छन् । रास्वपाले बुझाएको समानुपातिक सूचिमा रुपन्देहीबाट ६ जनाको नाम समावेश छ ।

Advertisement

रास्वपा स्रोतका अनुसार यसअघि आयोगमा बुझाएको सूचिमा रहेका जिल्लाका सबैजना समानुपातिक सांसद बन्ने भएका छन् । रास्वपाले नाम सार्वजनिक नगरे पनि रुपन्देहीबाट भैरहवाकी पुनमकुमारी अग्रवाल र ज्ञानु पौडेलको नाम समावेस छ ।

यस्तै, देवदहकी श्रद्धा कुंवर, बुटवलकी अमृता विक र मन्जु भुसाल तथा शुद्धोधन गाउँपालिकाका सुदिप ढकाल समानुपातिक प्रतिनिधि सभा सदस्य नियुक्तिका लागि रास्वपाबाट सिफारिस भएका हुन् । निर्वाचन आयोगले अनुमोदन गरे यी ६ जना रास्वपाको तर्फबाट समानुपातिक सांसद बन्ने पक्का भएको छ ।

यस्तै, राप्रपाले आयोगमा बुझाएको समानुपातिक सूचिमा मुस्लिम पुरुषबाट रुपन्देहीको रोहिणी गाउँपालिकाका ताहिर अलीको नाम समावेश छ । आयोगले राप्रपाको सूचि अनुमोदन गरे अली पनि समानुपातिक सांसद बन्ने पक्का भएको छ । पाँच क्षेत्र रहेको जिल्लामा २१ फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले सबै क्षेत्र जित्दै क्लिन स्वीप गरेको छ ।