August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

व्यवसायिक सुरक्षामा ध्यान दिन र अवैध कारोबार रोक्न निजी क्षेत्रको जोड

Advertisement

भैरहवा – सिमावर्ती सहर भैरहवा र आसपासको व्यवसाय प्रवर्द्धनका लागि सिद्धार्थ उद्योग वाणिज्य संघले जिल्लास्थित सुरक्षा प्रमुखसँग आइतबार बिहान छलफल गरेको छ । संघले उद्योग–व्यापार क्षेत्रको सुरक्षा, खुला सिमानाबाट हुने चोरी–तस्करी नियन्त्रण र यहाँको व्यवसाय प्रवद्र्धनका विषयमा छलफल गरेको हो । कार्यक्रममा रुपन्देहीका उद्योगी–व्यवसायीको सुरक्षा, ट्राफिक व्यवस्थापन तथा व्यापार सहजीकरणका विषयमा छलफल भएको थियो ।

Advertisement

संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले वैध व्यापार गर्ने व्यवसायीलाई सुरक्षाकर्मीले सहयोग गर्नुपर्ने र अवैध व्यापारमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि सुरक्षाकर्मीको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै व्यापारिक वातावरण सुरक्षित बनाउन प्रहरी प्रशासनले विशेष ध्यान दिनुपर्ने धारणा उनले व्यक्त गरे ।

गलामण्डी लगायत विभिन्न स्थानमा रहेका अस्थायी प्रहरी पोस्ट हटाइएका कारण सुरक्षामा समस्या बढेको भन्दै ती क्षेत्रमा पुनः अस्थायी प्रहरी पोस्ट सञ्चालन गर्न अध्यक्ष आचार्यले अनुरोध गरे । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योग–व्यवसायको सुरक्षा र औद्योगिक क्षेत्रको संरक्षणमा सुरक्षाकर्मीले विशेष ध्यान दिनुपर्ने बताए । सुरक्षाकर्मी सक्रिय भए धेरै अवैध गतिविधि स्वतः न्यूनीकरण हुने र उद्योगी–व्यवसायीको मनोबल पनि उच्च रहने उनले जनाए ।

देश विभिन्न आर्थिक र राजनीतिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै आन्दोलन र अस्थिरताका कारण उद्योग–व्यवसाय प्रभावित भएको शर्माले बताए । यस्तो अवस्थामा उद्योग–व्यवसायलाई माथि उठाउन सरकारी निकाय र सुरक्षाकर्मीले सहयोगी भूमिका खेल्नुपर्ने उनको भनाई थियो ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भीष्मप्रसाद न्यौपानेले पछिल्लो समय सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणमा प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै तस्करी नियन्त्रणमा पनि त्यत्तिकै कडाइ आवश्यक रहेको बताए । महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपानेले सामाजिक क्षेत्रसँग सहकार्य गर्दै उद्योग–व्यवसायको हितमा प्रहरी प्रशासनले थप सक्रियता देखाउनुपर्ने धारणा राखे ।

संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले राज्यले दिएको जिम्मेवारीअनुसार प्रहरी प्रशासनले निष्पक्ष रूपमा काम गरे उद्योग–व्यवसायको वातावरण स्वतः सुधार हुने बताए । विगतमा व्यवसायीले प्रशासनबाट विभिन्न समस्या झेल्दै आएको उल्लेख गर्दै अहिलेको नेतृत्वले उद्योगी–व्यवसायीसँग सहकार्य गर्दै काम गर्नुपर्ने सुझाव दिए । संघका सल्लाहकार विष्णुप्रसाद शर्माले सुरक्षा प्रणालीलाई डिजिटल प्रविधिसँग जोड्न सके अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने जनाए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले सुरक्षाकर्मीले सकारात्मक सोचका साथ कानुन र नियमको दायराभित्र रहेर काम गरे उद्योगी–व्यवसायी सधैँ सन्तुष्ट रहने बताए । व्यवसायीलाई तर्साउने वा अनावश्यक दुःख दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राख्दै प्रहरीले चाहेको खण्डमा शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा ठूलो सुधार ल्याउन सकिने रायमाझीले बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलले रूपन्देहीमा ट्राफिक व्यवस्थापन कमजोर रहेको भन्दै त्यसतर्फ प्रहरी प्रशासनले विशेष ध्यान दिनुपर्ने बताए । पेट्रोलियम व्यवसायी राजु पौडेलले इन्धन वितरणका क्रममा किसानले ग्यालेन वा ट्याङ्कीमा डिजेल लैजाँदा प्रहरीले अवरोध गर्ने गरेको गुनासो गर्दै यसलाई सहज बनाइदिन आग्रह गरे । व्यवसायी गंगासागर अग्रहरीले सीमा क्षेत्रमा अहिले पनि व्यापक तस्करी हुने गरेको बताउँदै दैनिक मोटरसाइकलमार्फत ठूलो परिमाणमा चिनी, किराना र खाद्यान्न सामग्री भित्रिने गरेको उल्लेख गरे ।

व्यवसायी पशुपति कान्दुले खुला सीमाका कारण स्थानीय व्यवसाय प्रभावित भएको भन्दै भारतबाट हुने अवैध कारोबार नियन्त्रण गर्न आग्रह गरे । नेपाल–भारत मैत्री संघका अध्यक्ष श्रीचन्द गुप्ताले सीमा क्षेत्रमा रहेको एकीकृत सुरक्षा चेक पोस्टलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे । सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष राजन बिकले व्यवसायीमाथि अनावश्यक कारबाही नगरी सूक्ष्म अनुसन्धानपछि मात्र कानुनी प्रक्रिया अघि बढाउन माग गरे ।

इलेक्ट्रोनिक्स व्यवसायी हरिश सेठियाले तेस्रो मुलुकबाट भारतमा आउने केही सामाग्री खुला सीमाको फाइदा उठाउँदै नेपालमा अवैध रूपमा भित्रिने गरेको भन्दै त्यस्ता सामाग्रीको अनुगमन गर्न आग्रह गरे । किराना तथा प्लास्टिक व्यवसाय संघका सचिव झपेन्द्रप्रसाद बेल्बासेले तस्करीका कारण स्थानीय व्यवसायी मारमा परेको भन्दै तस्करी नियन्त्रणमा प्रहरी प्रशासनले थप सक्रियता देखाउनुपर्ने बताए ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठनका अध्यक्ष राजेश महोत्रा क्षेत्रीले पर्यटन प्रवद्र्धनका लागि उद्योगी–व्यवसायी, सुरक्षाकर्मी र पर्यटन क्षेत्रका सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए ।

सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वार्टर रूपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहराले तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले निरन्तर सक्रिय भूमिका खेलेको बताए । भारतबाट चोरी–तस्करी भएर आएका सामान नेपालभित्र कसले खरिद गरी बिक्री वितरण गर्छ भन्ने विषय पनि गम्भीर रहेको भन्दै त्यसतर्फ उद्योग वाणिज्य संघ र व्यवसायीले पनि ध्यान दिनुपर्ने जनाए ।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले उद्योगी–व्यवसायीका समस्या र मर्मप्रति प्रहरी प्रशासन सधैँ सचेत रहेको बताउँदै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । व्यवहारिक पक्षलाई ध्यान दिइने भए पनि कानुन उल्लघंन गर्नेहरूप्रति कडाइका साथ कारबाही गरिने स्पष्ट पारे ।