२४ बर्षपछि पुरातात्विक महत्वका सामाग्रीहरु संग्राहालयमैं


भैरहवा–२४ बर्ष अघि सुरक्षाकालागि प्रहरी कार्यालयमा रााखिएका ऐतिहासिक र पुरातात्विक महत्वका सामाग्रीहरु कपिलवस्तु संग्रहालयलाई फिर्ता गरिएको छ । माओवादी सशस्त्र द्वन्दका वेला ति सामाग्री सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा राखिएको थियो ।
ऐतिहासिक र पुरातात्विक महत्वका ती सामाग्री ४० बर्ष अघि २०४२ सालअघि कपिलवस्तुमा खेत खन्ने क्रममा फेला परेको थियो । तत्कालिन पतरिया गाउँपञ्चायत वडा नं ५ हालको शुद्धोदन गाउँपालिका–१ को सूर्यवलिया र सोहसामा किसानले खेत खन्ने क्रममा उक्त सामग्री फेला परेका थिए । फेला परेका ती सामाग्री स्थानीय प्रशासनले नियन्त्रणमा लिएर कपिलवस्तु संग्रहालयमा राखेको थियो । सशस्त्र द्वन्द्वका बेला असुरक्षित हुने ठानेर २०५८ चैत १८ मा संग्रहालयले प्रहरीलाई जिम्मा लगाएको थियो ।
जबकि, द्वन्द्वका बेला ०६१ चैत २१ मा माओवादीले जिल्ला प्रहरी कार्यालयमा आक्रमण गर्दा पनि उक्त सेफ सुरक्षित रहेको थियो । फलामे सेफमा ताला लगाएर राखिएको ऐतिहासिक र पुरातात्विक महत्वका ति सामाग्रीमा सुनका गरहगना, असर्फी रहेका छन् ।
सेफमा राखिएका सामग्री अवलोकन गरी जिल्ला प्रहरी प्रमुख उपरीक्षक सन्तोष आचार्यले कपिलवस्तु संग्रहालयकी प्रमुख शान्ति शेर्मालाई हस्तान्तरण गरेका थिए । सेफमा तामाको भाडामा राखिएको २ थान असर्फी, १ थान राज औठी, १ थान बेरुवा औंठी र २ थान कढा रहेका थिए ।सबै सामाग्री करिब २३ तोला सुनका रहेका छन् ।
बेलायती महारानी भिक्टोरिया इम्प्रेस, एडवर्ड सप्तम र जर्ज पञ्चम लेखिएका सन् १८६२ देखि १९२० सम्मका चाँदीका ३४ वटा सिक्का पनि सेफमा थिए । करिब ५ सय वर्ष पुरानो सुल्तान मोहम्मद मुमतिनका पालाका २८ वटा चाँदीका सिक्का सेफमा रहेका थिए । कपिलवस्तु संग्रहालयकी प्रमुख शान्ति शेर्माले संग्रहालयमा आएका यी सामग्री पुरातात्विक मूल्यमान्यता अनुसार संरक्षण गरेर संग्राहलयमा सर्वसाधारणलाई अवलोकनकालागि राखिने बताएकी छन् ।








प्रतिकृया दिनुहोस्