कपिलवस्तुमा ८९ जनाको जमानत जफत


कपिलवस्तु–तीनवटा निर्बाचन क्षेत्र रहेको कपिलवस्तु जिल्लामा ८९ जना उम्मेदवारको जमानत जफत भएको छ । तीन निर्वाचन क्षेत्रका तीन–तीन जना गरी ९ जनाले मात्र जमानत जोगाएका छन् ।
यस पटकको निर्बाचनमा कपिलवस्तुका तीनवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ९८ जना उम्मेदवार थिए । खसेको सदर मतको १० प्रतिशतभन्दा कम मत पाए उनीहरूको धरौटी सहितको जमानत जफत हुने व्यवस्था छ ।
क्षेत्र नं १ मा ३४ उम्मेदवारमध्ये ३१ जनाको जमानत जफत भएको छ । क्षेत्र नं २ मा २८ मध्ये २५ र क्षेत्र नं ३ मा ३६ मध्ये ३३ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।
क्षेत्र नं १ बाट एमाले उम्मेदवार तथा संविधानसभा सदस्य विश्रामप्रसाद चौधरी र क्षेत्र नं २ बाट एमाले उम्मेदवार तथा पूर्वराष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेको पनि जमानत जफत भएको छ । चौधरीले ७ हजार ९ सय ८१ र पाण्डेले ७ हजार ३ सय ५७ मत पाएका थिए ।
क्षेत्र नं ३ बाट राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार तथा पूर्वराज्यमन्त्री ईश्वरदयाल मिश्रको पनि जमानत जफत भएको छ । मिश्राले ५ हजार १७ मत मात्र पाएका थिए । नेपाली कम्युनिस्ट पार्टीका क्षेत्र नं १ का उम्मेदवार कृष्ण कुँवर र क्षेत्र नं ३ का उम्मेदवार एहसान अहमद खाँलेपनि जमानत बचाउन सकेनन् । कुँवरले ४ हजार ६ सय १६ मत पाउँदा खाँले ४ हजार २ सय ५१ मत पाएका थिए ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवारले जनही १० हजार रुपैयाँ जमानत (धरौटी) राखेर आवेदन भर्नुपर्ने कानुनी व्यवस्था छ । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनमा खसेको कूल सदर मतको १० प्रतिशत नकटाउने उम्मेदवारको जमानत धरौटी रकम जफत हुने व्यवस्था छ ।








प्रतिकृया दिनुहोस्