रूपन्देहीमा निष्प्रभावी मतदाता शिक्षाः बदर भयो ३८ हजार बढी मत


भैरहवा– रूपन्देहीमा एक उम्मेदवारलाई जित्न पुग्ने मत बदर भएको छ । यसले जिल्लामा मतदाता शिक्षाको अवस्था नाजुक रहेको देखाउँछ । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रममा खर्च गरे पनि त्यसको उपलब्धि शुन्य देखिएको छ । मत गणनाका क्रममा कतै ल्याप्चे लगाएका, कुनै ठाउँमा एक भन्दा धेरै चिन्हमा छाप लगाएका मतपत्र फेला परेका थिए । रुपन्देहीका ग्रामीण क्षेत्रमा छाप नलगाएका रित्तै मतपत्र पनि फेला परेका थिए । यसले वर्षौदेखि मतदाता शिक्षामा गरिएको लगानी खेर गइरहेको देखाएको छ ।
यसपालीको गत फागुन २१ गतेको संसदीय निर्वाचनमा जिल्लामा ५ वटा निर्वाचन क्षेत्रमा गरेर ३८ हजार बढी मत बदर भएको पाइएको छ । यसपटक प्रत्यक्षतर्फ २२ हजार ३५ र समानुपापातिक निर्वाचन प्रणालीतर्फ १६ हजार ७ सय २७ मत बदर भएको पाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार प्रत्यक्ष निर्वाचनतर्फ रुपन्देही–१ मा ४ हजार ८ सय ५९ मत बदर भएको छ ।रुपन्देही–२ मा २ हजार २ सय ९०, रुपन्देही–३ मा ४ हजार १ सय ६२, रुपन्देही–४ मा ४ हजार ९ सय ७७ र रुपन्देही–५ मा ५ हजार ७ सय ४७ मत बदर भएको पाइएको छ । समानुपातकितर्फ रुपन्देही–१ मा ३ हजार ६ सय ८, रुपन्देही–२ मा १ हजार ५ सय १७, रुपन्देही–३ मा २ हजार ९ सय ५६, रुपन्देही–४ मा ३ हजार ९ सय ७७ र ५ मा ४ हजार ६ सय ६९ मत बदर भएको छ । बदर मतको संख्या उच्च भएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
कार्यालयका अनुसार प्रत्यक्षतर्फ रुपन्देही–१ मा ९६ हजार ८ सय ५९, रुपन्देही–२ मा ८६ हजार ३ सय ३, रुपन्देही–३ मा ९३ हजार ५ सय ७६, रुपन्देही–४ मा ७७ हजार १५ र रुपन्देही–५ मा ८४ हजार ५ सय ७२ गरी ४ लाख ३८ हजार ३ सय २५ मत खसेको थियो । कार्यालयका अनुसार समानुपातिक तर्फ रुपन्देही क्षेत्र नम्बर १ मा ९७ हजार १७, रुपन्देही–२ मा ८६ हजार ९ सय १३, रुपन्देही–३ मा ९४ हजार २ सय ३२, रुपन्देही–४ मा ७७ हजार ५ सय ९४ र रुपन्देही–५ मा ८५ हजार ६ सय ७४ गरी ४ लाख ४१ हजार ४ सय ३० मत खसेको थियो ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख कल्पना अर्यालले रुपन्देहीमा प्रत्यक्षतर्फ ५ दशमलव ३ र समानुपातिक तर्फ ३ दशमलव ७९ प्रतशित मत बदर भएको बताइन् । धेरै मत बदर हुनुको कारण मतदाता शिक्षा प्रभावकारी हुन नसकेको उनले जनाइन् । जिल्लामा कार्यालयले फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । स्थानीय तहका प्रत्येक वडामा एक–एक जना स्थानीय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर भोट हाल्न सिकाइएको थियो । ‘त्यति गर्दा गर्दै पनि बदर मत संख्या धेरै पाइएको छ,’ अर्यालले भनिन्, ‘आगामी दिनमा थप सुधार गर्नुपर्ने देखिन्छ ।’ हुनतः विगतमा पनि जिल्लामा यस्तै गरी म तबदर हुँदै आएको छ । तर, सुधार गर्न निर्वाचन कार्यालयले त्यति प्रभावकारी काम गरेको छैन । अर्कातर्फ दल र उम्मेदवारहरुले पनि यसमा ध्यान दिएको पाइँदैन ।








प्रतिकृया दिनुहोस्