पूराना दल फेरेर लुम्बिनी प्रदेशमा दर्जन नेता बने रास्वपाबाट माननीय


भैरहवा – लुम्बिनी प्रदेशमा पुराना दल फेरेर रास्वपा प्रवेश गरेको केही समयमै संसदीय यात्रा गर्ने धेरै छन् । प्रदेशका २६ प्रतिनिधिसभा सदस्य सिट मध्ये रास्वपाले २१ मा जित हासिल गरेको छ । ती मध्ये मातृ दलबाट अवसर नपाएपछि रास्वपा प्रवेश गरेर सांसद बनेकाहरु करिब एक दर्जन छन् ।
पुराना दल परित्याग गरेका उम्मेदवारले जनताको ‘परिवर्तन’को चाहना पूरा गर्न प्रतिनिधिसभा रोजेका बताएका छन् । तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीबाट रुपन्देही–४ (१) मा विजयी कन्हैया बनिया प्रदेशसभा सदस्यबाट राजीनामा दिएर रास्वपा प्रवेश गरेका थिए । पार्टी एकीकरण पछि बनेको जसपा नेपालमा रहेका उनी मनोनयन पूर्व रास्वपा प्रवेश गरेर उम्मेदवार बने । उनी रुपन्देही–४ बाट विजयी भए । प्रदेश सभा सदस्य भएर नागरिकको चाहना अनुसार काम गर्न नसकिएले प्रतिनिनिधि सभा सदस्य रोजेको उनले बताए ।
पश्चिम नवलपरासी १ र २ बाट पनि पूर्व कांग्रेसीले रास्वपाबाट जित हात पारेका छन् । जिल्ला पार्टीभित्र आन्तरिक किचलो बढेपछि तत्कालीन कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल मनोनयन पूर्व रास्वपा प्रवेश गरेका थिए । ०७९ को निर्वाचनमा पश्चिम नवलपरासी–१ बाट विनोद चौधरी उम्मेदवार भएपछि खनालले बागी उम्मेदवारी दिएका थिए । त्यसबेलादेखि कांग्रेस जिल्ला समितिमा विवाद सुरु भएको थियो । बिद्रोही उम्मेदवार बनेपछि खनाललाई कांग्रेसले अनुशासनको कारबाही गरेको थियो ।
कांग्रेसले यसपटक पश्चिम नवलपरासी–१ बाट चौधरीलाई उम्मेदवार बनायो । लगत्तै पार्टी त्यागेर खनाल रास्वपाबाट उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । पश्चिम नवलपरासी–२ बाट पूर्व कांग्रेस नेता नरेन्द्र गुप्ता निर्वाचित भएका छन् । कांग्रेसबाट टिकट पाउने सम्भावना नभएपछि उनी रास्वपा प्रवेश गरेका थिए । कांग्रेसले पश्चिम नवलपरासी–२, भीमबहादुर थापा र देवेन्द्र राज कंडेललाई टिकट दिएको थियो । थापाले पहिले मनोनयन दर्ता गरेकाले निर्वाचन आयोगले उनकै उम्मेदवारी आधिकारिक मान्यो ।
कांग्रेस भित्र चुलिएको विवाद र रास्वपाका पक्षमा देखिएको लहरको लाभ उठाउँदै गुप्ता निर्वाचित भए । गुप्ता कांग्रेसबाट २०७४ मा सदरमुकामस्थित रामग्राम नगरपालिका प्रमुख निर्वाचित भएका थिए ।
मनोनयनका बेला रास्वपा प्रवेश गरेर कपिलवस्तु–२ बाट पूर्व कांग्रेस नेता विक्रमसिंह थापा निर्वाचित भएका छन् । थापाले कांग्रेस उम्मेदवार पूर्वमन्त्री सुरेन्द्रराज आचार्यलाई पराजित गरेका हुन् । ०७९ मा प्रवेशसभा सदस्यमा झिनो मतान्तरले पराजित थापा यसपटक प्रतिनिधिसभा सदस्य उम्मेदवारका आकांक्षी थिए । पार्टीले टिकट नदिएपछि उनले रास्वपा रोजे । पाल्पा–२ बाट डा. माधव थापाले कांग्रेस सभापति हिमालदत्त श्रेष्ठलाई पराजित गरे । कांग्रेस निकटका अनुसार थापा अझैं जिल्ला कार्यसमिति सदस्य छन् ।
कांग्रेस जिल्ला सभापति श्रेष्ठसँग निकट सम्बन्ध रहेका थापा मनोनयको मुखमा रास्वपा प्रवेश गरेका थिए । श्रेष्ठले थापालाई जिल्ला कार्य समितिमा लगेका थिए । सँगैं यात्रा र उठबस गर्ने थापाले आफ्ना मित्र श्रेष्ठलाई पराजित गरेका हुन् । थापा बुटवलको होराइजन चोकमा कालिका होमियोप्याथिक सञ्चालन गरिरहेका थिए । उनी रास्वपा प्रवेश गरेको कांग्रेसले उम्मेदवार बनेपछि मात्रै जानकारी पाएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचित भइसक्दा समेत थापा कांग्रेस जिल्ला सदस्य रहेको कांग्रेस कार्यकर्ता बताउँछन् ।
दाङ–१ बाट निर्वाचित देवराज पाठक लामो समय शिक्षणमा संलग्न थिए । साथैं शिक्षक फाँटमा रहेर नेपाली कांग्रेसको राजनीति गर्दै आएका थिए । ४० वर्ष शिक्षणमा बिताएका ६० वर्षीय पाठक शिक्षक संघको जिल्ला उपसभापति भइसकेका व्यक्ति हुन् । २०७९ मा तत्कालीन शिक्षक संघ र अध्यापन पेशा त्यागेर उनी रास्वपा प्रवेश गरेका थिए । उनले कांग्रेस सहमहान्त्री योगेन्द्र चौधरी, पूर्वसहरी विकासमन्त्री मेटमणी चौधरी र लुम्बिनी प्रवेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीलाई पराजित गरेका हुन् ।
रास्वपाबाट उम्मेदवार बन्नु अघि बाँके–३ बाट निर्वाचित खगेन्द्र सुनार अभियन्ता थिए । दलित अधिकारका लागि सडक आन्दोलन समेत गरेका थिए । सुनार पूर्वकांग्रेस कार्यकर्ताका रुपमा चिनिएका थिए । यसपटक बाँके–३ बाट उनले कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पाखा लगाए । उनी पूर्व पत्रकार हुन् । सञ्चारकर्ममा रहेकै बेला उनले ‘दलितका लागि दलित’ अभियान सुरु गरेका थिए । बाँके–१ बाट सुरेशकुमार चौधरी विजयी भए । चौधरी नागरिक उन्मुक्ति पार्टीबाट रास्वपा प्रवेश गरेका हुन् ।
०७९ को निर्वाचनमा बर्दिया–१ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका पूर्व पत्रकार ठाकुरसिंह थारु यसपटक रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । लामो समय पत्रकारिता गरेका थारु सुरुमा एमाले निकट थिए । ०७९ मा पत्रकारिता छाडेर नागरिक उन्मुक्तिबाट उम्मेदवार बनेका थिए । त्यसबेला कांग्रेसका सन्जय गौतमले पराजित गरेका थिए । यसपटक रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका थारुले कांग्रेसका गौतमलाई पराजित गरेका हुन् । नागरिक उन्मुक्ति पार्टी कमजोर बनेपछि उनी रास्वपा छिरेका थिए ।
बर्दिया–२ मा लामो समय पर्यटन व्यवसायमा बिताएका श्रीधर पोखरेल पहिलो प्रयासमै रास्वपा उम्मेदवार बनेर संसदीय यात्रा गर्न सफल भएका छन् । लामो समय कांग्रेस आवद्ध भएर पोखरेलले सामुदायिक वनदेखि सामाजिक संघसंस्थामा नेतृत्व गरेका थिए । उनी डेढ वर्षअघि रास्वपा प्रवेश गरेका थिए । पोखरेलले कांग्रेस नेता किशोरसिंह राठौरलाई पराजित गरेका हुन् । यस्तै, प्यूठानमा रास्वपाबाट निर्वाचित सुशान्त बैदिक पूर्वमाओवादी पृष्ठभूमिका व्यक्ति हुन् । उनी माओवादीका जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री हुँदा योजना आयोगमा नियुक्त भएका थिए । तर, माओवादी एकीकरा पछि नेकपा बन्यो, उनी रास्वपातिर लागे र सांसद जिते ।








प्रतिकृया दिनुहोस्