राष्ट्रिय दहरूले समेत रूपन्देहीबाट जोगाउन सकेनन् जमानत


भैरहवा– ०७९ सालको निर्बाचनमा राष्ट्रिय दल बनेका राष्ट्रिय सवतन्त्र पार्टी बाहेकका अन्य राजनीतिक दलहरुले समेत यस पटकको निर्बाचनमा रूपन्देहीको सवै निर्बाचन क्षेत्रबाट जमानत जोगाउन सकेनन् ।
नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले रूपन्देहीको पाँचवटै निर्बाचन क्षेत्रबाट जमानत जोगाउन सकेनन् । भने, अन्य ठूला राजनीतिक दलहरुले पनि सवै ठाउँमा जमानत जोगाउन सकेनन् ।
०७९ मा सवै भन्दा ठूलो राजनीतिक दल बनेको नेपाली कांग्रेसले रूपन्देहीको निर्बाचन क्षेत्र नम्बर ३ मा जमानत जोगाउन सकेन । रूपन्देही-३ मा जमानत जोगाउन ८ हजार ९४२ मत आवश्यक पर्नेमा नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत ल्याएका थिए ।
नेकपा एमालेले रूपन्देही-३ र १ बाट जमानत जोगाउन सकेन । रूपन्देही-३ मा एमालेका बासुदेव घिमिरेले ८ हजार २७५ मत ल्याएका थिए । भने, रूपन्देही-१ मा एमालेका दधिराम न्यौपानेले ७ हजार ४८८ मत ल्याए । रुपन्देही-१ मा जमानत जोगाउन ९ हजार २०० मत आवश्यक थियो ।
रूपन्देही-१ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएका पूर्व स्थानीय विकास राज्यमन्त्री समेत रहेका घनश्याम यादव अहिरको पनि जमानत जफत भएको छ । उनले २ हजार १९८ मात्र मत प्राप्त गरेका थिए ।
रूपन्देही-४ मा जसपा नेपालबाट उम्मेदवारी दिएका सर्वेन्द्रनाथ शुक्लले समेत जमानत जोगाउन सकेनन् । जमानत जोगाउन ७ हजार २०४ मत आवश्यक पर्नेमा शुक्लले ३ हजार ४१० मतमात्र ल्याएका थिए । शुक्ल यस क्षेत्रबाट पटक-पटक निर्बाचित हुँदै कयौंचोटि मन्त्री समेत भएका थिए ।
रूपन्देही-५ बाट नेपाली कम्युनिष्ट पार्टीबाट उठेका तथा पूर्वमन्त्री समेत रहेका मुहम्मद वकील मुसलमान र जनमत पार्टीबाट उठेका ओमप्रकाश यादवले पनि जमानत जोगाउन सकेनन् । यस क्षेत्रमा जमानत जोगाउन ७ हजार ८८३ मत आवश्यक पर्नेमा मुसलमानले ६ हजार १७६ र यादवले ३ हजार १०९ मत मात्र ल्याएका थिए ।








प्रतिकृया दिनुहोस्