August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

लुम्बिनी प्रदेशबाट सांसद चुनिए ४० मुनिका ११ युवा

Advertisement

भैरहवा– २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशका ११ निर्वाचन क्षेत्रमा ४० वर्ष मुनिका युवा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । ११ मध्ये सबैभन्दा बढी ४० मुनिका युवा निर्वाचित हुने जिल्ला रुपन्देही बनेको छ । जिल्लाको क्षेत्र नम्बर १, २, ४ र ५ मा ४० मुनिका युवा सांसद चुनिएका छन् ।

Advertisement

प्रदेशमा ४० मुनिका निर्वाचित युवा सांसदहरुमध्ये १० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हुन् भने एकजना नेपाली कांग्रेसका छन् । यसअघि यी सबै निर्वाचन क्षेत्रमा ५० वर्ष माथिका नेताहरु निर्वाचित हुँदै आएका थिए । निर्वाचित युवाहरु सबैजनाको पहिलो पटक संसदीय यात्रा हो ।

रुपन्देही–१ मा रास्वपाका ३५ वर्षीय इन्जिनियर सुनिल लम्साल निर्वाचित हुँदा क्षेत्र नम्बर २ मा २८ वर्षीय अधिवक्ता सुलभ खरेल, ४ मा ३६ वर्षीय कन्हैया बनिया र ५ मा पनि रास्वपाकै ३८ वर्षीय युवा तौफिक अहमद खाँन निर्वाचित भएका छन् । यस्तै, दाङ–२ मा रास्वपाका सहमहामन्त्री ३९ वर्षीय विपिनकुमार आचार्य र दाङ–३ मा रास्वपाकै ३८ वर्षीय युवा कमल सुवेदी विजयी हुँदै संसदीय यात्रामा प्रवेश गरेका छन् ।

बाँके–३ मा रास्वपाका ३५ वर्षीय खगेन्द्र सुनार विजयी हुँदा पाल्पा–१ मा नेपाली कांग्रेसका ३८ वर्षीय युवा सन्दीप रानाले संसदीय राजनीतिमा पाइला टेकेका छन् । यसैगरी गुल्मी–१ बाट रास्वपाका ३४ वर्षीय सागर ढकालले जित निकाल्दा अर्घाखाँचीबाट रास्वपाकै ३७ वर्षीय हरिप्रसाद भुसाल विजयी भएका छन् । प्यूठानबाट युवा अर्थशास्त्री समेत रहेका ३१ वर्षीय सुशान्त बैदिकले बाजी मारेका छन् । बैदिक पनि रास्वपाबाटै निर्वाचित भएर संसदीय यात्रा तय गर्ने युवा हुन् ।

विगतमा ५० कटेका नेताहरुले जित्दै आएका लुम्बिनी प्रदेशका यी क्षेत्रहरुमा यसपटक मतदाताले युवा उम्मेदवारलाई अनुमोदन गरेर परिवर्तनको संकेत दिएका छन् । निर्वाचित युवाहरुले आ–आफ्नो क्षेत्रमा अधिकांश हेबीवेट नेताहरुलाई हराएर संसदीय यात्रा तय गरेका हुन् ।