प्रदेश सांसदबाट राजीनामा दिएर उम्मेदवारः बनियाले रास्वपाबाट जित्दा तीनजनालाई रास्वपाले नै बढार्यो


भैरहवा– लुम्बिनी प्रदेश सभाबाट ४ जना सांसदहरुले राजिनामा दिएर आम निर्वाचनमा सहभागी भए । दुई वर्ष कार्यकाल बाँकी रहँदै राजीनामा दिनेमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का धनबहादुर मास्की, बाँके निर्वाचन क्षेत्र क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेकपाकै कृष्णा केसी, बर्दिया निर्वाचन क्षेत्र क्षेत्र नं. २ (२) बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र रुपन्देही निर्वाचन क्षेत्र नं. ४ (१) बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया थिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका यी चार नेतामध्ये एक जना मात्रै सफल भएका छन् । बाँकी तीन जना भने मुख्य प्रतिस्पर्धामै आउन सकेनन् । प्रदेशसभा सदस्यको पद त्यागेर संघीय राजनीतिमा उक्लिने लक्ष्यसहित मैदानमा उत्रिएका उनीहरूमध्ये रुपन्देही–४ बाट कन्हैया बानिया मात्रै निर्वाचित भएका न् ।
उनी लोसपा पार्टी परित्याग गरेर रास्वपा प्रवेश गरेर निर्वाचनमा उठेका थिए । क्षेत्र नं. ४ बाट निर्वाचनमा उठेका उनले एमालेका प्रमोदकुमार यादवलाई पराजित गर्दै सांसद बनेका हुन् । विजयी बनियाले २८ हजार ६६ मत प्राप्त गर्दा एमालेका यादवले २० हजार २६२ मत मात्र प्राप्त गरे ।
अन्य तीन जना भने प्रतिस्पर्धामै आउन सकेनन् । राजिनामा दिएर प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गरेका अन्य तीन जना भने पराजित हुन पुगे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी कृष्णा केसी बाँके क्षेत्र नं. १ मा पराजित भइन् । उनले जम्मा १ हजार २४० मत मात्र प्राप्त गरिन । उनको यहाँ जमानत समेत जफत भयो । उनी छैठौ भइन् । यो निर्वाचन क्षेत्रमा रास्वपाका सुरेशकुमार चौधरी ३२ हजार ७९२ मत प्राप्त गर्दै विजयी भएका छन् ।
प्रदेश सभाबाट राजिनामा दिएर संघिय प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवार बनेका अर्का थिए, धनबहादुर मास्की । दाङ क्षेत्र नं. ३ मा नेकपाबाटै उम्मेदवार बनेका उनले ९ हजार ३२८ मत प्राप्त गरी चौथो बने । यहाँ पनि रास्वपाकै कमल सुवेदी ४४ हजार २४८ मतले विजयी भएका छन् ।
यस्तै, बर्दिया क्षेत्र नं. २ (२) बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य निर्वाचित धर्मबहादुर चौधरीले पनि पद त्यागेर बर्दिया क्षेत्र नंं. २ मा उज्यालो नेपाल पार्टी (उनेपा) बाट उम्मेदवार बने । तर उनी पनि त्यहाँ पराजित भए । उनले ४ हजार ४ सय ७२ मत मात्रै प्राप्त गर्दै पाँचौँ स्थानमा रहे । यो निर्वाचन क्षेत्रमा पनि रास्वपाकै श्रीधर पोख्रेल २९ हजार ६७८ मत प्राप्त गरी विजयी भए ।








प्रतिकृया दिनुहोस्