August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

लुम्बिनीबाट पूर्वएसएसपी थापा र पूर्वडीएसपी पन्थीको संसदीय यात्रा

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशमा प्रहरी सेवाबाट अवकाश प्राप्तपछि राजनीतिमा प्रवेश गरेका दुई पूर्वप्रहरी अधिकृत यसपटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा सफल भएका छन् । कपिलवस्तु–२ बाट विक्रमसिंह थापा र गुल्मी–२ बाट गोविन्द पन्थी विजयी भएका हुन् । उनीहरु दुबैजना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएका हुन् । दुबैजनाले राजनीतिमा चर्चित र पूर्वमन्त्रीहरुलाई पराजित गर्दै संसदीय यात्रा तय गरेका हुन् ।

Advertisement

पाँचौं जितको खोजीमा रहेका पूर्वमन्त्री बृजेशकुमार गुप्ता र तेस्रो जितको खोजीमा रहेका पूर्वमन्त्री सुरेन्द्रराज आचार्यलाई पराजित गरेर कपिलवस्तु–२ बाट थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । २०७९ मा काँग्रेसबाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका थापा पराजित भएका थिए । उनी यसपटक रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । पूर्व वरिष्ठ उपरीक्षक (एसएसपी) थापा अपराध अनुसन्धान, गुण्डागर्दी नियन्त्रण र तराईमा आतंक मच्चाउने भूमिगत समूहलाई निस्तेज पार्ने प्रहरी अधिकृतका रुपमा स्थापित थिए ।

सेवा निवृत्त भएपछि २०७४ देखि थापा राजनीतिमा लागेका हुन् । गुल्मीमा जन्मिए पनि डेढ दशकदेखि कपिलवस्तुलाई कर्मथलो बनाएका काम गरिरहेका थिए । गुल्मीको महेन्द्र माविबाट २०३७ सालमा एसएससी उत्तीर्ण थापा उदय प्रताप कलेज बनारस भारतबाट बिएससी उत्तीर्ण हन् । पढ्नमा जति अब्बल थिए, त्यति नै उनी अनुशासन, सुशासन र समन्यायकाका लागि दृढ थिए । ६३ वर्षीय उनी प्रहरी सेवामा हुँदा काठमाडौं, ललितपुर, बाँके, रुपन्देही र कपिलवस्तुलगायतका जिल्लाको कमाण्ड सम्हाल्दा राम्रो काम गरेको भन्दै अब्बल अधिकारीका रुपमा नाम कमाएका थिए ।

उनले बहुचर्चित युनिटी ठगी काण्ड, तराईमा भूमिगत शैलीमा आंतक मच्चाउने भगत सिंहलाई पक्राउ, ०७२ मा तेल ढुवानी गर्ने ट्यांकरबाट हुने पेट्रोलियम पदार्थको चोरी काण्डको पर्दाफास गरेर चर्चा कमाएका थिए । त्यही भएर उनलाई कतिपय ठाउँमा सिंघम र राउडी राठोर जस्ता उपनाम दिएर चर्चा गरिन्थ्यो । उनका दुई छोरामध्ये एउटा एमडी गर्दै छन् भने अर्को ईञ्जिनियर छन् । श्रीमतीसहित ४ जनाको परिवार रहेका उनको माओवादी सशस्त्र द्वन्द्वका बेला २०५८ मा नुवाकोटमा एम्बुसमा परेर कानको श्रवणशक्ती कमजोर बनेको छ ।

भीड नियन्त्रणको मनोविज्ञानका राम्ररी बुझेका थापाले आन्तरिक सुरक्षा व्यवस्था, अपराध अनुसन्धान, गुण्डागर्दी नियन्त्रण र विषम परिस्थिति आकलन गरेर योजना बनाई काम गर्न अब्बल मानिन्छन् । त्यही भएर उनलाई प्रहरी प्रधान कार्यालयले २०६० मा प्रहरीको सर्वोत्र्कृष्ट सम्मान पूर्णशान्ति पुरस्कार प्रदान गरेको थियो । भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको आधाभूत आवश्यकताका कुरालाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताएका छन् ।

चुनावका अनुभवी नेता र पूर्वमन्त्री तथा पूर्वराष्ट्रिय सभा सदस्यहरूसँग प्रतिस्पर्धा गर्नु कठिन भए पनि उनले जनताको भारी मत प्राप्त गरी संसद्को यात्रा तय गरेका छन् । निर्वाचनमा होमिएको दोस्रो प्रयासमा थापाले संसद प्रवेश गर्ने अवसर पाएका छन् । प्रहरी सेवाको अनुभवलाई उनले यसपटक संसदीय अभ्यासमा प्रयोग गर्दैछन् । थापाले २७ हजार ६३५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका आचार्यले २१ हजार ५२७ मत प्राप्त गरेका थिए ।

गुल्मी क्षेत्र नम्बर २ मा रास्वपाबाट उम्मेदवार बनेका पूर्व डीएसपी पन्थीले एमाले उपाध्यक्ष तथा पूर्वमन्त्री गोकर्णराज विष्टको निरन्तर जितमा ब्रेक लगाएका छन् । छैटौं पटक उम्मेदवार बनेका विष्ट पाँचौं जितको दाउमा थिए । विष्ट २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा मात्रै पराजित भएका थिए । यसपटक पनि जित हासिल गर्नेमा ढुक्क देखिन्थे । तर, पहिलोपटक उम्मेदवार बनेका पन्थी १६ हजार ९ सय ६७ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिद्वन्द्वी बिष्टले १६ हजार ४ सय ६ मत ल्याएका छन् ।

गुल्मीको मदाने गाउँपालिका–७, भनभनेमा २०३१ फागुन १६ गते जन्मिएका पन्थी राष्ट्रिय स्वतन्त्र पार्टीका नयाँ नेता हुन् । प्रहरी नायब उपरीक्षक (डीएसपी) पदबाट अवकासपछि उनले सामाजिक क्षेत्रमा सक्रियता जनाउँदै आएका थिए । उनी कानुन व्यवसायी (अधिवक्ता) समेत हुन् ।

प्रहरी संगठनमा सही नेतृत्वप्रति विश्वास राख्दै आएका थिए । कुनै पनि संगठनलाई सफल बनाउन सक्षम र इमान्दार नेतृत्व आवश्यक हुने उनी बताउँछन् । प्रहरी सेवामा समावेश भएर उनले नेपालका चर्चित काण्डको सफल अनुसन्धान गरेका छन् भने भिजिट भिषा र भुटानी शरणार्थी प्रकरणको छानबीनमा उनी सहभागी भएका थिए । यी काण्डमा उनले देखाएको नेतृत्व र पहलले उनलाई अनुसन्धानका क्षेत्रमा गहिरो अनुभव प्रदान गरेको छ ।

पन्थीले मानव बेचबिखन र लागुऔषधसम्बन्धी विभिन्न विषयमा नेपालका विभिन्न स्थानमा प्रष्टिकरण र प्रशिक्षण कार्यशालामा सक्रिय भूमिका निर्वाह गरेका छन् । समाजमा कानुनी सेवा उपलब्ध गराउने कुरामा सधैं प्राथमिकता दिएका छन् । कानुनी सेवाबाट वञ्चित रहेका विपन्न वर्गलाई उनले निःशुल्क कानुनी सहायता उपलब्ध गराउँदै आएका छन् । जसले उनलाई समाजका विभिन्न वर्गमा अझ लोकप्रिय बनाएको छ ।