धन्यवाद दिन घरदैलोमा रास्वपा सांसद


भैरहवा– ‘घण्टी’ चिन्हमा देखिएको लहरसँगै रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्र ‘क्लिन स्वीप’ गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद सोमबारदेखि धन्यवाद दिन मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।
जिल्लाका विभिन्न स्थानमा पुगेर मतदातालाई धन्यवाद दिन लागेका हुन् । त्यसका लागि उनीहरुले प्रचारमा जस्तो घरदैलो तालिका बनाएका छन् । निर्वाचित सांसद र अगुवा नेताहरु घरदैलोमा पुगेका हुन् । रुपन्देही–३ बाट निर्वाचित डा. लेखजंग थापाले आफ्नो निर्वाचन क्षेत्रभरि धन्यवाद कार्यक्रम राखेका छन् ।
रास्वपा रुपन्देहीका नेता बिनोद खरेलका अनुसार रुपन्देही–३ का सिद्धार्थनगर, मायादेवी, तिलोत्तमा, शुद्धोधन र बुटवल उपमहागरका विभिन्न वडामा धन्यवाद कार्यक्रम राखिएको छ । खरेलका अनुसार निर्वाचन क्षेत्रका ३६ वटै वडामा मतदातालाई धन्यवाद दिने कार्यक्रम राखिएको हो ।
त्यसैगरि रुपन्देही–५ बाट निर्वाचित तौफिक अहमद खानले पनि मतदाताप्रति आभार व्यक्त गरेका छन् । सामाजिक सञ्जाल मार्फत धन्यवाद दिएका उनले आफ्नो क्षेत्रका मतदाताको घरदैलोमा पुगेर धन्यवाद दिन कार्यक्रम राखिएको बताए । सोमबार सैनामैना नगरपालिका ५ देखि ११ नम्बर वडामा पुगेर धन्यवाद दिने कार्यक्रम तय गरिएको छ । बिहान साढे ११ बजे सुरु हुने कार्यक्रम साँझ साढे ५ बजेसम्म चल्ने खानले बताए ।
उनका अनुसार प्रचारप्रसारका क्रममा पनि यसरी नै मतदातासित भेटघाट गरेर मत माग्नुका साथै अपेक्षा संकलन गरिएको थियो । निर्वाचित भएपछि यसअघिका सांसदले फर्केर नहेर्ने गरेको जनताको गुनासो मेटाउन पनि आफूले मतदातासित निरन्तर भेटघाट र छलफल गरिरहने उनले बताए ।
रुपन्देही–४ बाट निर्वाचित रास्वपा सांसद कन्हैया बनियाले मतदातालाई धन्यवाद कार्यक्रम राखेका छन् । लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर संघीय निर्वाचन लडेका बनिया पहिलो प्रयासमै सफलता हासिल गरेपछि उत्साहित छन् । आफ्नो क्षेत्रको मुहार फेर्ने लक्ष्य सहित उम्मेदवार बनेका बनियाले मतदाता नै भगवान भएकाले उनीहरुको साथ नछोड्ने बताए ।
रुपन्देही १ र २ बाट निर्वाचित रास्वपा सांसदले पनि धन्यवाद कार्यक्रम राखेका छन् । रुपन्देही १ बाट निर्वाचित रास्वपा महामन्त्री सुनील लम्सालले तालिका बनाएर मतदाताको घरदैलोमा पुगिरहेको बताए । त्यस्तै रुपन्देही २ बाट निर्वाचित सुलभ खरेलले पनि मत परिणाम सार्वजनिक भए लगत्तै धन्यवाद सभा आयोजना गरेका थिए । भने तालिका बनाएर आफ्नो क्षेत्रका सबै मतदाता समक्ष पुग्ने बताए ।








प्रतिकृया दिनुहोस्