रूपन्देही–२ मा बहसः को नयाँ को पुराना ?


बुटवल– एउटा भिन्नै परिस्थितिमा हुन गइरहेको प्रतिनिधि सभाको यही २१ गतेको चुनावलाई लिएर रुपन्देही–२ मा दलहरुले जारी गरेको घोषणा पत्रका आधारमा कुन दल राम्रो र कुन दल नराम्रो भनेर भिन्नता छुट्टाउन पर्ने आवश्यकता देखिँदैन । किन भने कुनै पनि दलका उम्मेदवार वा स्वतन्त्र उम्मेदवारहरुले जनताको मन बिझाउने तथा चित्त दुखाउने कुनै पनि कुरा उल्लेख गरेका छैनन् ।
दलहरुले जनता अथवा मतदाताका लागि राम्रो गर्ने, जनताको जीवनस्तर सुधार्ने आफ्नो क्षेत्रको बिकासमा हरपल सक्रिय रहने, मतदातालाई दुःख पर्दा सहयोग गर्ने लगायतका बाचा गर्छन्, जुन स्वभाविक पनि हो र उम्मेदवार तथा दलहरुका तर्फबाट गरिने यस्ता प्रतिवद्धताहरुप्रति मतदाताले कति बिश्वास गर्छन् वा गर्दैनन् भन्ने कुरा निर्वाचनको वेला गौण हुने पक्षहरु नै हुन् । खासगरी हामीले गर्दै आएका अभ्यासहरुमा ।
अव यी दलहरुका घोषणा पत्रमा उल्लेख गरेका बाचाहरुलाई छाडेर हामी धरातलमा उत्रने हो भने अहिलेको चुनावमा रुपन्देही–२ का मुख्य प्रतिस्प्रर्धी भनेका उम्मेदवारका रुपमा पूर्वमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल, राजनीतिकर्मी एवं ब्यवसायी चुन्नप्रसाद शर्मा पौडेल र अधिबक्ता शुलभ खरेल नै हुन् भने दलका हिसावले उनीहरु क्रमशः नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गरेका छन् ।
बिष्णुप्रसाद पौडेल
स्यांङ्गजामा जन्मेर पाल्पा हुँदै रुपन्देहीको राजनीतिमा आएका पौडेल चलाखसँगै धुर्त र राज्यवाट पाउने सबै खाले अवसरहरु नगुमाएका नेताका रुपमा चर्चित छन् । बुटवल दीपनगरको सुकुम्वासीबाट शुरु गरेका उनको जमिन यात्रा काठमाडौंको बालुवाटार हुँदै ललितपुरसम्म विस्तार भएका समाचारहरु धेरै पहिलेदेखि नेपाली मिडियाहरुमा छाउँदै आएका छन् । जमिन यात्राको बारेमा उनले आजसम्म मिडियाका समाचारहरु खण्डन नगरेकाले ती समाचारहरु गलत थिएनन् भनेर आम नेपालीले जस्तै यस क्षेत्रका मतदाताले पनि बिश्वास गरेको हुनु पर्छ भन्ने लाग्छ । जमिन यात्राको यो दाग शायद अव उनले जीवनयात्रा भरी नै हटाउन सक्लान् भन्ने कतै पनि लाग्दैन् ।
जमिन यात्रा बाहेक पौडेलसँग जोडिएको अर्को पर्याय भनेको उनको बिकास यात्रा पनि हो । कार्यकर्ता भन्छन्– उनले बाटो बनाए, पुल बनाए, एयरपोर्ट बनाए अर्थात उनले रुपन्देहीमा सवै थोक बनाए ।
उनका कार्यकर्ताको दावीलाई बिश्वास नगर्नु पर्ने कारण केही पनि छैन, किनभने उनी ठाउँमा थिए र त पैसा निकाल्न सके । उनी ठाउँमा थिए र त निकालेको पैसा बाटोमा हाल्न सके, उनी ठाउँमा थिए र त भैरहवामा एयरपोर्टलाई चाहिने भन्दा २३ अर्ब रुपैयाँको वढी जग्गा खरिद गराउन सक्षम भए । यो क्षेत्रका अरु दुई उम्मेदवारहरु चुन्न प्रसाद पौडेल र शुलभ खरेल अहिलेसम्म ठाउँमा छैनन् । अनि उनीहरुले बिष्णु पौडेलको जस्तो बिकास गर्न कसरी सकुन त । त्यसैले बिकास तथा पूर्वाधारका कुरालाई लिएर चुन्न र शुलभलाई दोष दिने कहि कतै ठाउँ नभएको मतदाता बताउँछन् ।
चुन्नप्रसाद शर्मा पौडेल
बाग्लुङमा जन्मेर गुल्मीमा मास्टर हुँदै किराना पसल चलाउन बुटवल झरेका पौडेल राजनीतिमा नयाँ भए पनि बुटवलको जनजीवनमा नयाँ होइनन् । सुनिएको छ– उनका आधा दर्जन भन्दा वढी ब्यवसायिक प्रतिष्ठानहरु छन् । जहाँबाट उनले राज्यलाई सेवासँगै उत्पादन दिएका छन् । केही हजारलाई रोजगारी दिएका छन् । उनीसँग राजनीतिक अनुभव छैन होला, तर यही राजनीतिले बनाएको सिस्टमले उनलाई दिएका दर्जनौ हैरानीका अनुभवहरु निश्चय पनि छन् ।
सेवाग्राहीले राज्यसँग काम लिँदा कतिसम्म दुःख पाइन्छ भन्ने लामा कथा व्यथाहरु उनीसँग छन् । चुन्नलाई लाग्यो होला– राज्यका यस्ता धमिराहरु फाल्न आफै अगाडि सर्ने वेला आएको छ । उनले व्यवसायिक जीवनमा जस्तै निर्वाचित भएमा यसलाई व्यवहारमा लागू गरेर केही बदल्न सक्ने अनुमान गरिएको छ ।
सुलभ खरेल
रास्वपा उम्मेदवार शुलभ खरेल युवा हुन् । केही गर्छु भन्ने जांगर छ, अनि मतदाताले मतदान गरेर जिताए भने केही गर्लान् पनि । तर चुन्न प्रसाद पौडेल र शुलभ खरेललाई नयाँ छन्, यिनीहरुको अनुभव छैन भनेर हेप्न भने नपाइने मतदाताहरु बताउँछन् । सुलभमाथि जेनजी आन्दोलनमा अदालत जलाउन उस्काएको आरोप छ । उनी पेसाले अधिवक्ता हुन् । २८ वर्षीय युवा अत्रिवक्ताले अदालत जलाउन उस्काएको आरोपले उनी पछिल्लो समय निकै आलोचित छन् ।








प्रतिकृया दिनुहोस्